Skip This
सैनिक कल्याणकारी कोषमा साढे तीन करोड हिनामिना : पूर्वमेजर बेलायत भागे, जमदार जेल चलान
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Thursday, 30 January, 2025
नवराज मैनाली काठमाडाैं
२o८१ माघ १६ बुधबार o८:५o:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सैनिक कल्याणकारी कोषमा साढे तीन करोड हिनामिना : पूर्वमेजर बेलायत भागे, जमदार जेल चलान

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार o८:५o:oo

फर्जी चेक काटेर करोडौँ हिनामिना गरेको पुष्टि भएपछि नेपाली सेनाका एक अवकाशप्राप्त कर्मचारी जेल चलान भएका छन् । सेनाको कल्याणकारी कोष हिनामिनामा तानिएका एक पूर्वअधिकारी भने विदेश पुगेका छन् ।

६ महिनाअघि अवकाश पाएका सेनानी (मेजर) समीरकुमार गुरुङको योजनामा कोषको रकम हिनामिना भएको हो । हिनामिनामा संलग्न पूर्वजमदार रवीन्द्र लुंगेलीलाई भने प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघात मुद्दा चलाएको थियो । लुंगेली मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

गत १ जेठमा अवकाश पाएका सेनानी गुरुङ ६ महिनाअघि बेलायत गएको पुष्टि भएको छ । अदालतले उनीविरुद्ध मंगलबार पक्राउ वारेन्ट जारी गरेको छ । सोही घटना पत्ता लाग्न सक्ने डरले उनी भागेको आशंका गरिएको छ ।

सेनाको कल्याणकारी कोषमा साढे तीन करोड हिनामिना भएको दुई वर्षपछि बल्ल सेनाले चाल पाएर थप छानबिन थालेको छ । सेनाले महासेनानी उत्तम सापकोटाको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी छुट्टै अनुसन्धान गरिरहेको छ । यसक्रममा प्युठ टीकाराम गोतामेलाई सैनिक प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बिमा शाखाबाट फर्जी चेक बनाएर लामो समयसम्म रकम हिनामिना भएको आरोप छ । अवकाशमा जाने सैनिक कर्मचारीले आवास तथा बिमा कोषबाट रकम पाउँछन् । त्यसमा वास्तविकभन्दा धेरैजना अवकाशमा गएको देखाई उनीहरूको नाममा चेक काटेर करिब दुई वर्षको अवधिमा साढे तीन करोड रकम हिनामिना भएको छानबिनमा खुलेको थियो ।

आर्थिक वर्ष ०७८/७९ र ०७९/८० मा रकम हिनामिना भएको पुष्टि भइसकेको छ, त्यसअघिका वर्षमा पनि त्यसैगरी हिनामिना भएको आशंकामा सेनाले विस्तृत अनुसन्धान गरिरहेको छ । यसमा सैनिक कल्याणकारी निर्देशनालयका तत्कालीन प्रमुखहरूको भूमिकामाथि समेत छानबिन भइरहेको स्रोतको भनाइ छ । घटनाले सेनाको लेखापरीक्षण प्रणालीमाथि समेत प्रश्न उठेको छ ।

सैनिक ऐनअनुसार अवकाशप्राप्त कर्मचारीको हकमा अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको र बहालवालाको हकमा आन्तरिक रूपमा छानबिन भइरहेको एक सैनिक अधिकारीले बताए । सैनिक नियमावलीअनुसार सैनिक कर्मचारीले अवकाश लिएको ६ महिनापछि उनीहरूविरुद्ध सैनिक ऐन आकर्षित हुँदैन ।

प्रहरीसँगको बयानमा लुंगेलीले एक करोड ३८ लाख लिएको स्वीकार गरेका छन् । सो पैसाबाट भक्तपुरको च्यामासिंहमा ७५ लाख, सर्लाहीको लालबन्दीमा १८ लाख तथा चितवनको सौराहामा नौ लाखमा जग्गा खरिद गरेको बताएका छन् । यस्तै, १७ लाख छोरालाई अस्ट्रेलिया पठाउन खर्च भएको उनको बयान छ । उनले तत्कालीन मेजर गुरुङको निर्देशनमा आफूले विभिन्न ‘सिभिलयन’को नाममा चेक काटेर हस्ताक्षर गर्न लगाई नेपाल बैंकमा रहेको खाताबाट पैसा निकालेको बताएका छन् ।

उनले प्रहरीमा दिएको बयानमा भनेका छन्, ‘सेनानी समीर गुरुङले चिटमा दर्जा नामथर ब्याच नम्बर रकम उल्लेख गरी उक्त व्यक्तिका नाममा चेक बनाउनु भनी मलाई आदेश दिने गरेको हुँदा मैलेसमेत सोहीअनुसार चेकहरूमा रकम र नाम भरी सेनानी समीर गुरुङलाई दिने गरेको र मलाई गैरसैनिक व्यक्तिको नाममा उक्त खाताको चेकबाट रकम भुक्तानी लिँदा थाहा नपाउने रहेछ भन्ने लागेपछि मैले हप्तामा दुई–तीनजनाको नाममा ४०/५० लाख रुपैयाँभन्दा बढी रकमबराबरको फर्जी चेकहरू काटिदिएको हुँ ।’

कात्तिक ०८० मा स्वेच्छिक अवकाश लिएर सेनाको जागिर छाडेका उनलाई सेनाले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि प्रहरीले पक्राउ गरेको हो । सेनाको कल्याणकारी कोषमा चार लाखभन्दा माथिको खर्च गर्न सहायक रथीको हस्ताक्षर चाहिने प्रावधान छ । त्यसभन्दा कममा सेनानी र महासेनानीले पनि हस्ताक्षर गर्थे । यसरी हिनामिना भएका चेक सबै चार लाखभन्दा कमका छन् । त्यसमा फरार रहेका पूर्वसेनानी गुरुङका साथै बहालवाला महासेनानी झलेन्द्र भट्टराईले हस्ताक्षर गरेका थिए । महासेनानी भट्टराईको भूमिका प्रस्ट भइनसकेको स्रोत बताउँछ । प्रहरीले उनको समेत बयान कागज गरेर पठाउन सेनालाई पत्राचार गरेको छ । हाल सेनाले अवकाशमा जानेहरूलाई यस्तो सुविधाबापतको रकम बैंक खातामै दिने गरेकाले फर्जी चेकका आधारमा हुने अनियमितता रोकिएको छ ।