निर्माणको तयारीमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् परियोजनाको जलाशयमा करिब एक हजार मेगावाटको ‘फ्लोटिङ सोलार प्लान्ट’ निर्माण गर्ने प्रस्ताव गरिएको छ । धादिङ र गोरखाको सीमा क्षेत्रमा बग्ने बुढीगण्डकी नदीमा दुई सय ६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइँदै छ । त्यसो गर्दा अधिकतम ६३ वर्गकिलोमिटर क्षेत्रको जलाशय बन्नेछ । सोही जलाशयमा एक हजार मेगावाटको फ्लोटिङ (तालमा तैरिने) सोलार प्लान्ट राख्ने प्रस्ताव प्रवर्द्धक कम्पनी बुढीगण्डकी जलविद्युत् कम्पनीले गरेको छ ।
जलाशयमा पानीको न्यूनतम सतह भने ३९ वर्गकिलोमिटरसम्म हुनेछ । त्यसको २५ प्रतिशत अर्थात् ९.७५ वर्गकिलोमिटर जलाशयमा फ्लोटिङ सोलार राख्ने गरी कम्पनीले छलफल अघि बढाएको छ । कम्पनीले आफ्नै स्वामित्वमा अत्तिरिक्त परियोजनाका रूपमा यो अघि बढाउन लागेको हो । यद्यपि, यो बुढीगण्डकी जलविद्युत् परियोजनासँग अन्तरआबद्ध पनि हुनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौतले जलाशयमा फ्लोटिङ सोलार प्लान्ट बनाउने गरी छलफल भइरहेको बताए । ‘यो संसारमा पनि नौलो अवधारणा हो । जापानलगायतका सीमित मुलुकमा फ्लोटिङ सोलार प्लान्ट निर्माण गरेको देखिन्छ । प्रारम्भिक अध्ययनमा बुढीगण्डकी जलाशयमा पनि फ्लोटिङ सोलार प्लान्ट राख्न सकिने देखिएको छ । माछापालन, बोटिङ र वातावरणलगायतलाई असर नपर्ने गरी फ्लोटिङ सोलार प्लान्ट बनाउने गरी छलफल अघि बढेको छ,’ उनले भने । यस विषयमा सकारात्मक रूपमा छलफल अघि बढेको उनको भनाइ छ । यो सफल भएमा विद्युत्गृहबाट १२ सय मेगावाट र फ्लोटिङ सोलारबाट एक हजार गरी करिब २२ सय मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ ।
कम्पनीका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले पनि ऊर्जा सुरक्षाका लागि यो अवधारणा ठिक रहेको बताए । ‘यो बहुउद्देश्य आयोजना हो । यसबाट अधिकतम लाभ लिनुपर्छ । त्यसका लागि यो पनि उपयुक्त अवधारणा हो,’ उनले भने । ९ मंसिरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्दा भेटुवालले कम्पनीको तर्फबाट फ्लोटिङ सोलार निर्माणबारे पनि जानकारी गराएका थिए ।
प्रारम्भिक अध्ययनका क्रममा फ्लोटिङ सोलार राख्दा प्रतिमेगावाट साढे पाँच करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । एक हजार मेगावाट क्षमतामा फ्लोटिङ सोलार राख्दा ५५ अर्ब खर्च लाग्ने देखिन्छ । यता बुढीगण्डकी जलविद्युत् परियोजनाको संशोधित लागत भने चार खर्ब १३ अर्ब रुपैयाँ छ । त्यसमा फ्लोटिङ सोलारसमेत समावेश गर्दा कुल लागत चार खर्ब ६८ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।
ड्याम सरकारले निर्माण गर्ने, विद्युत् उत्पादन निजी क्षेत्रलाई
परियोजनामा लगानी जुटाउन प्रस्ताव गरिएको दुई खाका अर्थ मन्त्रालयमा विचाराधीन रहेका वेला कम्पनीले फेरि अर्काे खाका बनाइरहेको छ । परियोजनाको ड्याम र विद्युत् उत्पादन फरक–फरक कम्पनीबाट निर्माण गर्ने गरी नयाँ खाका बनाउन लागिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौतले पनि यसबारे छलफल भइरहेको छोटो प्रतिक्रिया दिए ।
यो परियोजना स्वदेशी लगानीमै निर्माण गर्ने गरी सरकारी स्वामित्वको बुढीगण्डकी जलविद्युत् कम्पनी भदौ ०७९ मै स्थापना भइसकेको छ । कम्पनीले यसअघि परियोजनामा लगानी जुटाउन दुई विकल्प अर्थ मन्त्रालयमा पेस गरेको छ । कम्पनीले पहिलो विकल्प पेस गरेको खाकामा एक खर्ब रुपैयाँको स्वपुँजीमा परियोजना बनाउने प्रस्ताव गरेको छ । त्यसमा सरकारको ५१ अर्ब, प्राधिकरणको २० अर्ब, सरकारी तथा सार्वजनिक निकायको नौ अर्ब, सर्वसाधारणको १० अर्ब र आयोजना प्रभावितको १० अर्ब सेयर लगानी हुने प्रस्ताव छ । यस मोडेलमा परियोजना बनाउँदा निर्माण अवधिको ब्याजसहित तीन खर्ब ९८ अर्ब दुई करोड लगानी चाहिनेछ । त्यसमा बाँकी दुई खर्ब ९८ अर्ब दुई करोड भने ऋणमार्फत जुटाउने प्रस्ताव गरिएको छ । त्यसमा सरकारले दुई खर्ब ६ करोड रुपैयाँबराबरको सहुलियत ऋण १ प्रतिशत ब्याजमा उपलब्ध गराउने प्रस्ताव गरिएको छ । बाँकी ९७ अर्ब ९७ करोड रुपैयाँ भने व्यावसायिक ऋण परिचालन गर्ने प्रस्ताव छ ।
दोस्रो विकल्प परियोजनामा सरकारले ७३ अर्ब २० करोड रुपैयाँ न्यून सम्भाव्यता कोष (भिजिएफ) दिने प्रस्ताव छ । यस खाकामा परियोजना बनाउँदा लागत तीन खर्ब ८३ अर्ब ६७ करोडमा सीमित हुनेछ । यस मोडेलमा कम्पनीको पुँजी भने ९२ अर्ब २१ करोड हुनेछ । यसमा सरकारको ४७ अर्ब तीन करोड (५१ प्रतिशत), प्राधिकरणको १८ अर्ब ४४ करोड (२० प्रतिशत), अन्य सरकारी तथा सार्वजनिक निकायको आठ अर्ब ३० करोड (९ प्रतिशत), सर्वसाधारणको नौ अर्ब २२ करोड (१० प्रतिशत) र आयोजना प्रभावित बासिन्दाको नौ अर्ब २२ करोड (१० प्रतिशत) सेयर हुने प्रस्ताव गरिएको छ । यसमा सरकारले सहुलियत (१ प्रतिशत ब्याज)मा एक खर्ब ३९ अर्ब ९१ करोड कर्जा उपलब्ध गराउने प्रस्ताव गरिएको छ । ७८ अर्ब ३५ करोड रुपैयाँ भने व्यावसायिक कर्जा परिचालन गरिने प्रस्ताव छ । यो मोडेल विचाराधीन रहेका वेला कम्पनीले पुनः अर्काे खाका तयार गर्न लागेको हो । त्यसमा जलाशय निर्माण गर्ने र विद्युत् उत्पादन गर्ने काम फरक–फरक कम्पनीबाट गराउने प्रस्ताव गरिँदै छ ।सकिने स्रोतको भनाइ छ ।
बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौत भन्छन्–
जलाशयमा फ्लोटिङ सोलार प्लान्ट बनाउने गरी छलफल भइरहेको छ । यो संसारमा पनि नौलो अवधारणा हो । जापानलगायतका सीमित मुलुकमा फ्लोटिङ सोलार प्लान्ट निर्माण गरेको देखिन्छ ।
प्रारम्भिक अध्ययनमा बुढीगण्डकी जलाशयमा पनि फ्लोटिङ सोलार प्लान्ट राख्न सकिने देखिएको छ । माछापालन, बोटिङ र वातावरणलगायतलाई असर नपर्ने गरी फ्लोटिङ सोलार प्लान्ट बनाउने गरी छलफल अघि बढेको छ ।