पुनरागमन जित निकाल्दै एसी मिलान इटालियन सुपर कप च्याम्पियन बनेको छ । सोमबार राति साउदी अरेबियाको अल अवाल पार्कमा मिलानले सहरी प्रतिद्वन्द्वी इन्टरमिलानलाई ३–२ ले हरायो ।
मिलानको जितमा थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिक र टमी अब्राहमले समान एक गोल गरेका थिए । इन्टरका लागि लौटारा मार्टिनेज र मेहदी तारेमीले गोल गरेका हुन् । मिलानले सन् २०१६ पछि पहिलोपटक इटालियन सुपर कपको उपाधि उचालेको हो ।
समग्रमा भने मिलान आठौँपटक च्याम्पियन बन्यो । साउदीमा पहिलो हाफको इन्जुरी समयमा अर्जेन्टिनी स्टार मार्टिनेजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ४७औँ मिनेटमा तारेमीले टोलीको अग्रता दोब्बर बनाएका हुन् ।
हर्नान्डेजले ५२औँ मिनेटमा मिलानलाई २–१ को स्थितिमा पुर्याए । ८०औँ मिनेटमा पुलिसिकले गोल गर्दा मिलान २–२ को बराबरीमा आयो । इन्जुरी समयमा अब्राहमले गोल गर्दै मिलानलाई ३–२ को रोमाञ्चक जित दिलाएका हुन् ।