सिराहाको गोलबजार नगरपालिका–२, ३ र ६ अन्तर्गतका गाउँटोलबाट भारतको कस्मिर श्रीनगर लगी करिब आठ महिनासम्म काम लगाएर पारिश्रमिक नदिई फर्काएपछि पीडित मजदुरहरूले वडा कार्यालयमा पारिश्रमिक उठाइदिन भन्दै निवेदन दिएका छन्।
मजदुर बटुल्ने गाउँकै ठेकेदारले मासिक ३३ हजार रूपैयाँ पारिश्रमिक पाइन्छ भन्दै गत चैतमा कस्मिरको ललरपुरा पुर्याएको थियो । भागेर गाउँ फर्किएका गोलबजार–३ भाङ्बारी गाउँका करिब ३१ वर्षीय वीरेन्द्र सदाले कस्मिर पुगेलगत्तै मोबाइल खोसेर बन्धक बनाएको बताए । ‘भारतीय ठेकेदारसँग पारिश्रमिक माग्दा दिनहुँ कुटपिट गर्थ्यो,’ उनले भने, ‘धेरै हल्ला गरे मारेर फ्याँकिदिन्छु भनेर धम्क्याएर श्रम शोषण गर्थ्यो।’
भारत जाने बेला गाउँको ठकेदारबाट घर खर्चका लागि सात हजार लिएर घरमा छाडेर गएको उनले बताए । उनले भने ‘फर्किने बेलामा दुई हजार रूपैयाँ भाडा पाएँ, मासिक ३३ हजार रूपैयाँको दरले आठ महिनामा हुने दुई लाख ५७ हजार दिएको छैन ।’
कस्मिरबाट जसोतसो ज्यान जोगाएर विरेन्द्रसँगै गाउँ फर्किएका ३५ वर्षीय सुन्दर सदाले भारतीय ठेकेदारले दिनहुँ कुटपिट गर्दै खान समेत नदिई काममा जोताएको सुनाए । ‘कस्मिर पुगेलगत्तै हामीसँग भएको मोबाइल खोसियो,’ उनले भने, ‘दैनिक १२÷१४ घण्टासम्म विश्राम नगरी काममा जोताउँथे, तर एक छाक मात्र खान दिन्थ्यो । पेटभरि खान र काम गरेको ज्याला मागे कुटपिट गरी हाल्थे,’ उनले भने, ‘घरमा फोन गर्दा भारतीय ठेकेदारकै मोबाइलबाट कुरा गर्नु पथ्र्यो, कुटपिटको डरले जे बोल्न भन्थ्यो, त्यही बोल्थ्यौं ।’
उनीहरूका अनुसार गत चैत, वैशाख र जेठमा तीन चरणमा गरी गोलबजार–३ जम्दहका ठेकेदार हरिचन सदा र नाम नखुलेका उनका सम्धीमार्फत् ४०-४० जनाको दरले एक सय २० जना मजदुर भारतको कस्मिर पुरयाइएका थिए ।
त्यहाँ पुर्याइएलगत्तै मोबाइल खोसेर कम्पाउण्डसहितको घरमा राखेर भारतीय ठेकेदारले भनेअनुसार काम गर्न बाध्य भएको उनीहरूको गुनासो छ । भाङ्बारी गाउँका करिब ३७ वर्षीय अनिरूद्ध सदा भन्छन्, ‘गत कार्तिकमा कस्मिरबाट भारतीय ठोकेदारको आँखा छलेर भाग्न भ्याएँ ।’ काम गरेको पारिश्रमिक समेत नपाएकाले बाटोमा माग्दै, रेलमा बिना टिकट सास्ती झेलेर घर फर्किएको उनले सुनाए । ‘गाउँ फर्किएपछि कस्मिरमा भोगेको दुःख र सास्तीको बारे गाउँलेलाई सुनाएँ,’ उनले भने । त्यसपछि गाउँलेहरूले हरिचनलाई गाउँका अन्य मजदूरहरू सकुशल फिर्ता गराउन दबाब दिएपछि दुई दुई हजार रूपैयाँ भाडा लिएर गाउँ फर्किएको उनले बताए । गाउँ फर्किने बेला हरिचनले भारतीय ठेकेदारलाई फोनमार्फत् १५ लाख भारू आफ्नो खातामा जम्मा गरिदिएर मजदुरहरूलाई भने भाडा मात्र दिएर फर्काउन भनेको करिब ४५ वर्षीय विनोदकुमार सदाले बताए ।
महिनौंसम्म राम्ररी खान समेत नपाएर जोखिमपूर्ण काममा लगाएका मजदूरमध्ये अधिकांश बिरामी परेको स्थानीय ४८ वर्षीया जलास सदाले बताइन् । ‘मेरो छोरो विवेक पनि बिरामी भएर फर्किएको छ,’ उनले भनिन्, ‘कमाउन गएको छोरा कुटपिटबाट बिरामी भएर फर्कियो ।’ गाउँमा ऋण सापटी गरेर उपचार गराएपछि बल्ल हिंडडुल गर्न सक्ने भएको उनले बताइन् ।
पारिश्रमिक दिलाउन वडामा निवेदन
झुक्याएर कस्मिर पुर्याई श्रम शोषणमा परेको गोलबजार–३ अन्तर्गतका विभिन्न टोल बस्तीका ४५ जना मजदूरले गत आइतबार गोलबजार–३ वडा कार्यालयमा पारिश्रमिक दिलाउन माग गर्दै निवेदन दिएका छन् । वडाध्यक्ष धनप्रसाद लामा भन्छन्, ‘पीडित मजदूरहरूले दिएको निवेदनको आधारमा न्यायका लागि पहल गर्नेछु ।’
आफ्नो वडा क्षेत्रबाट गएकामध्ये ४५ जनाले गाउँ छोड्ने बेला तीन लाख ८५ हजार पाँच सय पेश्की लिएको निवेदनमा उल्लेख रहेको उनले बताए । ‘निवेदनकै आधारमा पनि भारत लैजाने बेला कबोल गरिए बमोजिम ९५ लाख १४ हजार पाँच सय रूपैयाँ पारिश्रमिक बाँकी देखिन्छ ।’
सिहाका प्रमुख जिल्ला अधिकारी बासदेव दाहालले झुक्याएर भारत पुर्याएर जोखिमपूर्ण काममा लगाएको बारे कुनै उजुरी नपरेको बताए । ‘पीडितहरूले निवेदन दिए त्यसको आधारमा छानबिन गरी स्थानीय ठेकेदार झिकाएर पारिश्रमिक दिलाउन पहल गरिनेछ,’ उनले भने ।