मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
रासस सोलुखुम्बु
२o८१ पौष २४ बुधबार २२:४४:oo
Read Time : < 1 मिनेट
समाचार

खुम्बुमा बुधबार मात्रै चारपटक भूकम्पको परकम्प 

Read Time : < 1 मिनेट
रासस, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार २२:४४:oo

सोलुखुम्बुको खुम्बु क्षेत्रमा पटक–पटकको भूकम्पका परकम्प गएको छ । मङ्गलबार गएको ठूलो भूकम्पपछि खुम्बु क्षेत्रमा साना परकम्प निरन्तर गइरहेका छन् । 

आज बिहान ३ः३० बजे र ५ः३० बजे खुम्बु क्षेत्रको दिङबोचे क्षेत्रमा भूकम्पका परकम्प महसुस गरिएको छ । त्यसपछि बिहान ९ः३० बजे थाम्बुचे क्षेत्रमा र साँझ ५ः३० बजे लुक्ला तथा पैयाँ क्षेत्रमा पनि परकम्पका झट्का अनुभव गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले परकम्पका कारण स्थानीय बासिन्दामा त्रास बढेको जानकारी दिए । उनले भने, ‘खुम्बु क्षेत्र जहाँ मङ्गलबार गएको भूकम्पको केन्द्र तिब्बत् नजिक पर्छ, त्यहाँ धेरै परकम्प गइरहेका छन्, जसले गर्दा स्थानीयवासीमा त्रास उत्पन्न गराएको छ तर सम्भावित सहयोगका लागि हाम्रा प्रहरीहरू स्थानीयवासीसँगै छन् ।’

परकम्पले छिनछिनमा धक्का दिन थालेपछि स्थानीयवासी घरभित्र छिर्नसमेत डराइरहेको स्थानीय पासाङ शेर्पाले बताए । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मङ्गलबार बिहान ६ बजेर ५० मिनेट जाँदा नेपाल–चीन सीमा क्षेत्रमा पर्ने तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस भूकम्पका परकम्प नै खुम्बु क्षेत्रमा महसुस भएको अनुमान गरिएको छ । खुम्बु तिब्बत्को नजिक पर्ने भएकाले त्यस क्षेत्रमा बढी परकम्पको धक्का महसुस गरिएको हुनसक्ने बताइएको छ ।