बरन्डामा रहेका कर्मचारीलाई तीन दिनभित्र जिम्मेवारीसहित व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । कार्यालयले आइतबार दुई मन्त्रालयलाई पत्राचार गरेर जिम्मेवारीविहीन कर्मचारीलाई तीन दिनभित्र व्यवस्थापन गर्न भनेको हो ।
‘सामान्य प्रशासन र गृह मन्त्रालयका बरन्डामा ६० उपसचिव’ शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको थियो । गृहअन्तर्गत नै पाँच सहसचिव पनि जिम्मेवारीविहीन छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुवै मन्त्रालयका सचिवलाई सम्बोधन गरेर पत्र लेखेको छ । ‘कर्मचारीहरूलाई कामविहीन बनाइराख्दा सरकारी स्रोत र साधनको अपव्यय हुने, कर्मचारीहरूको मनोबल घट्ने, कर्मचारीको वृत्ति विकास तथा शासकीय प्रबन्धमा समेत गम्भीर असर पर्न सक्ने देखिन्छ,’ पत्रमा भनिएको छ, ‘अतः तहाँअन्तर्गत पदस्थापन र जिम्मेवारी तोक्न बाँकी कर्मचारीहरूलाई विद्यमान कानुनबमोजिम तीन दिनभित्र जिम्मेवारी दिई यस कार्यालयलाई जानकारी दिनुहुन निर्णयानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ ।