चालू आर्थिक वर्षमा कम्पनीले सोना मनसुली धान ३२ हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखे पनि बजार मूल्यभन्दा सस्तो तोकिएका कारण अहिलेसम्म दुई हजार क्विन्टल पनि खरिद हुन सकेको छैन
संघीय सरकार स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक कार्यालय जनकपुरको धान खरिद गर्ने वार्षिक लक्ष्य यो वर्ष पनि पूरा नहुने देखिएको छ । सरकारले धानको मूल्य कम तोकेपछि किसानले निजी क्षेत्रका गल्ला व्यापारीलाई धान बिक्री गर्दा कम्पनीको लक्ष्य पूरा नहुने भएको हो ।
कम्पनीले धान खरिद गर्न २४ मंसिरमै सूचना जारी गरे पनि किसानहरू सस्तो मूल्यमा बिक्री गर्न इच्छुक देखिएनन् । संघीय सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा सोना मनसुली धान प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसाका दरले खरिद गर्ने निर्णय गरेको थियो । तर, यस क्षेत्रका स्थानीय गल्ला व्यापारीहरूले सोना मनसुली धान प्रतिक्विन्टल तीन हजार आठ सयमा खरिद गरेका छन् । कम्पनीका प्रादेशिक कार्यालय जनकपुरका प्रमुख देवेन्द्र रायका अनुसार चालू आर्थिक वर्षमा कम्पनीले सोना मनसुली धान ३२ हजार क्विन्टल तथा बासमती धान १० हजार क्विन्टल खरिद गर्ने लक्ष्य राखेको छ । तर, अहिलेसम्म सोना मनसुली धान दुई हजार क्विन्टल पनि धान खरिद हुन नसकेको उनले बताए ।
जनशक्ति तथा प्रचारप्रसारको अभाव, बजारभाउभन्दा न्यून मूल्य तोक्नु, धान खरिद गर्न अन्य ठाउँमा खरिद केन्द्र नहुनु तथा स्थानीय तहले सहयोग नगर्नुजस्ता कारणले लक्ष्यअनुसार धान खरिद हुन नसकेको प्रमुख रायको भनाइ छ । बासमती धान भने बजारमा नआएकाले यसको खरिद मूल्य हालसम्म तोकिएको छैन ।
जिल्ला प्राथमिक मूल्य निर्धारण समितिले बजार मूल्यलाई हेरेर खरिद मूल्य निर्धारण गर्न सकिए लक्ष्यअनुसार धान खरिद गर्न सकिने उनले बताए । गत वर्ष पनि सो कार्यालयको धान खरिद लक्ष्य पूरा गर्न सकेन । गत वर्ष सोना मनसुली ३० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएकोमा ४५.५ क्विन्टल मात्र खरिद गरेको थियो । स्थानीय तहमा रहेको वडा कार्यालयको सिफारिसमा एकजना किसानसँग एक सय क्विन्टलसम्म मात्र धान खरिद गर्ने गरेको छ । तर, अधियाँमा खेती गर्ने किसानसँग प्रतिकिसान २५ क्विन्टल मात्र धान खरिद गर्ने नीति लिएको छ । यस्तो झन्झटिलो प्रक्रियाका कारण किसानहरू निजी गल्ला व्यापारीलाई धान बेच्न बाध्य भएको सो कार्यालयका एक कर्मचारीले बताए ।
कार्यालयले धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थको मिश्रण २ प्रतिशतभन्दा कम हुनुपर्ने, टुक्रिएको–बिग्रिएको दानाको मिश्रण ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने तथा सबै धान एकनासको हुनुपर्ने र धान नभिजेको सफा हुनुपर्ने, ढुसी नभएको हुनुपर्ने नियम लागू गरेको छ । तर, स्थानीय गल्ला व्यापारीहरूले जस्तोसुकै धान खरिद गर्ने भएकाले किसानहरू कम्पनीतर्फ आकर्षित हुन सकेका छैनन् । ‘सरकारले तोकेको मूल्यमा धान बिक्री गर्दा किसानको लागत मूल्य पनि उठ्दैन,’ स्थानीय किसान यादवले भने, ‘त्यसकारण किसानले फाइदाका लागि निजी व्यपारीसँग धान बेच्न बाध्य छन् ।’