चिनी उद्योगीहरूले सिन्डिकेट गरेर चिनीको ‘गेट प्राइस’ प्रतिकिलो पाँचदेखि सात रुपैयाँ वृद्धि गरेका छन् । उनीहरूले औसतमा चिनीको मूल्य ९१ रुपैयाँ प्रतिकिलो कायम गरेका छन् । यो चिनी बजारमा आइनसकेकाले तत्कालै असर भने देखिएको छैन ।
उद्योगले गेट प्राइस वृद्धि गरेको चिनी बजारमा आएपछि न्यूनतम प्रतिकिलो एक सय १० रुपैयाँ मूल्य पुग्नेछ । अहिले बजारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो एक सय सात रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । यो चिनी आयातीत भएकाले महँगो भएको हो ।
उखु क्रसिङ सुरु हुनै लाग्दा नयाँ चिनीको बजारभाउ घट्ने विगतको अभ्यासविपरीत यो वर्ष मूल्य बढाएपछि बुधबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ । मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख (सहसचिव) शिवराम पोखरेल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित उद्योगी सम्मिलित छलफलमा चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको निष्कर्ष निकालिएको छ ।
छलफलमा सहभागी वाणिज्य विभागका निर्देशक पौडेलले उपभोक्तालाई असर पर्ने गरी उद्योगीले भाउ बढाउनुको कारण माग गरेको बताए । ‘चिनीको भाउवृद्धिले हामी संवेदनशील छौँ । के कारणले भाउ बढाएको हो भनेर हामीले लिखित रूपमा मागेका छौँ,’ उनले भने । बुधबारको बैठकमा उद्योगीले बर्सेनि लागत बढ्दै गएको र लामो समयसम्म चिनी स्टक राख्दा मौज्दात र बैंक ब्याज खर्चसमेत बढ्ने भएकाले आगामी दिनमा एकैपटक मूल्य बढाउनुको सट्टा अहिलेदेखि नै थोरै बढाउन थालेको तर्क गरेका थिए ।
‘उद्योगीले आफ्नो लागत धान्न आगामी दिनमा एकै पटक ह्वात्तै मूल्य बढाउनुको सट्टा अहिलेदेखि नै थोरै–थोरै मूल्य बढाउने नीति लिएको तर्क गरेका छन्,’ महानिर्देशक पौडेलले भने, ‘यस्तो तर्क गरेर मूल्य बढाउनु ठिक होइन । उद्योगीबाट मागेको विवरण आएपछि हामी नियन्त्रणका लागि प्रयास थाल्छौँ ।’
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले चिनीको कृत्रिम मूल्यवृद्धि भएको आरोप लगाए । ‘स्वदेशी चिनी सस्तोमा पाइनुपर्छ । तर, उद्योगीले कार्टेलिङ गरेर मूल्यवृद्धि गर्ने निर्णय गरेका छन्,’ उनले भने, ‘सरकारी निकायले तत्कालै मूल्यवृद्धि फिर्ता गराउने कदम चालेर उपभोक्ताको हित हुने कार्य गर्नुपर्छ ।’
२५ मंसिरमा चिनी उद्योगीले पत्रकार सम्मेलन गरेर तस्करीको चिनी आयात भएकाले स्वदेशी बिक्री गर्न कठिनाइ भएको भन्दै सरकारलाई तस्करी नियन्त्रण गर्न आग्रह गरेका थिए । तस्करी नियन्त्रण नभई स्वदेशी चिनी बिक्री गर्न कठिनाइ भए उखु किसानलाई समयमै भुक्तानी नदिने उनीहरूको चेतावनी थियो । किसानका अनुसार २५ मंसिरयताको भुक्तानी उद्योगीले रोकेर राखेका छन् ।
उखु किसान संघर्ष समिति, सर्लाहीका सचिव हरिश्याम रायले २५ मंसिरयता भुक्तानी नपाएको बताए । ‘प्रत्येक साता वा १५–१५ दिनमा उखु किसानले पाउने पैसा हिसाब गरेर दिनुपर्ने हुन्छ,’ उनले भने, ‘तर, २५ मंसिरयता पाएका छैनौँ ।’ उखु पेल्नासाथ तत्कालै चिनी उत्पादन हुने र उद्योगबाट समेत साताभित्रै बिक्री हुने भएकाले किसानलाई भुक्तानी गर्न उद्योगीलाई ठुलो समस्या छैन, तर पछिल्लो किस्ताबापतको भुक्तानी उद्योगीले रोकेर राखेका छन् । उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले भर्खरै क्रसिङ थालिएकाले भुक्तानीका लागि अतालिन नहुने बताए । ‘उखु क्रसिङ सुरु भएको धेरै भएको छैन । त्यसैले अहिले नै पैसा नपाइने हो कि भन्ने चिन्ता लिनुपर्दैन,’ उनले भने ।
मूल्य बढ्नुको कारण मागेका छौँ : राजन पौडेल, महानिर्देशक, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
चिनीको मूल्य बढाएको थाहा पाउनासाथ उद्योग मन्त्रालयमा उद्योगीलाई समेत डाकेर छलफल गरेका छौँ । त्यसक्रममा उद्योगीसँग मूल्य बढ्नुको ठोस कारण मागेका छौँ । उहाँहरूले पनि विवरण उपलब्ध गराउने भन्नुभएको छ ।
उद्योगीबाट विवरण प्राप्त भएपछि अध्ययन गरेर अस्वाभाविक लागेको खण्डमा मूल्यवृद्धि नियन्त्रणको उपाय अपनाउनेछौँ । अहिलेको स्थितिमा चिनीको भाउ बढाउनुपर्ने कारण नै देखिँदैन ।