बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा चार लाख दर्शक तथा २५ करोडको कारोबारका साथ सम्पन्न भएको छ। ‘लगानी लुम्बिनीमा: समृद्धि देशमा’ भन्ने नारासहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा ३ पुसदेखि सञ्चालन गरिएको औद्योगिक व्यापार मेला बिहीबार सकिएको हो।
१६ दिनसम्म सञ्चालन गरिएको मेलामा चार लाखभन्दा बढी दर्शकले अवलोकन गरेको र मेलाभित्रका स्टलमा सरदर २५ करोड रुपैयाँको कारोबार भएको आकलन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराए। ‘मेलामा पाँच सय स्टल राखिएको थियो।
मेलाको समापनका क्रममा पूर्वगृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले मुलुकको विकासको लागि औद्योगिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले मेला तथा रुपन्देहीको विकासका बारेमा चर्चा पनि गरेका थिए।
प्रदर्शक पुस्तिका विमोचन
मेलाको समापनमा संघले औद्योगिक व्यापार मेला बुटवल ०८१ को अवसरमा प्रकाशन गरेको मेला प्रदर्शक पुस्तिका विमोचन भएको छ । उक्त पुस्तिकाको पूर्वगृहमन्त्री खाणले विमोचन गरेका थिए। संघले ०४१ सादेखि गरेका प्रदर्शनी तथा मेलाको बारेमा संक्षिप्त जानकारीसहित औद्योगिक व्यापार मेला ०८१ मा सहभागी स्टलको तथ्यांक समेटेर उक्त पुस्तिका प्रकाशन गरिएको हो।