हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र दोलखाको टाइगर टिम भिड्ने भएका छन्। बिहीबारको सेमिफाइनल खेलमा जित निकाल्दै काठमाडौंको चित्लाङ फुटबल क्लबले फाइनलमा स्थान बनाएको हो।
यस्तै, यसअघि बुधबारको खेलमा सिन्धुलीको ब्लु अल्पाइनविरुद्ध जित निकाल्दै दोलखाको टाइगर टिम फाइनल प्रवेश गरिसकेको छ। फाइनलमा स्थान बनाउने क्रममा काठमाडौंले लालितपुरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। काठमाडौंको जितको लागि यमन महर्जनले दुई तथा सुजित बुढाथोकीले एक गोल गरे। यस्तै, लालितपुरको तर्फबाट रामकृष्ण चौधरीले एक सान्त्वना गोल फर्काए।
पहिलो हाफमा १-१ को बराबरी भएको खेलमा काठमाडौंले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गरेको हो। दोस्रो हाफको सुरुवातमा पछि परेको ललितपुर सोपश्चात् खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो । खेलको म्यान अफ द म्याच काठमाडौंका यमन महर्जन घोषित हुँदै तीन हजार नगदसहित ट्रफी प्राप्त गरे।
प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाका ११ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाखसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले एक लाखसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही २० पुस शनिबार हुनेछ।