टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ।
लिगमा पुरुष–महिलामा समान पाँच–पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौल समूहमा खेल हुनेछ।
त्यस्तै, महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुनेछ। करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, ७ र ३ अंक प्रदान गरिनेछ।
प्रतियोगिताका खेलहरू टोखा नगरपालिका–५ को कार्यालयपरिसरमा हुनेछन्। तीन–तीन महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुवात गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ।