मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १६ मंगलबार
  • Friday, 03 January, 2025
२o८१ पौष १६ मंगलबार १o:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको हरिवनबाट सिन्धुलीको मरिन जोड्ने सडक निर्माणमा बागमती र मधेश सरकारको चासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १६ मंगलबार १o:o३:oo

बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले र मधेश प्रदेशका आर्थिकमन्त्री सुनिल यादवले सर्लाहीको हरिवनबाट सिन्धुलीको मरिन जोड्ने बाटोलाई स्तरोन्नति गरी सञ्चालन गर्ने विषयमा चासो देखाएका छन् । दुवै प्रदेशका मन्त्रीहरूले संयुक्त रूपमा उक्त बाटोको अवलोकन गर्दै मधेश प्रदेश भएर पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र बागमती प्रदेश भएर पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गलाई जोड्ने सडक सञ्जाल विस्तारको विषयमा छलफलसमेत गरेका छन् ।

बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले सर्लाहीको विष्णु गाउँपालिकाको हरिवनदेखि धिमिले र क्यानेश्वर हुँदै सिन्धुलीको मरिन गाउँपालिकासम्म जोड्ने सडकलाई व्यवस्थित र स्तरोन्नति गरी दुवै प्रदेशलाई जोड्ने छोटो दूरीको सडक सञ्जाल विस्तारको विषयमा छलफल भएको जानकारी दिए । उनले उक्त सडकखण्डलाई विस्तार गर्न सके मधेश प्रदेशदेखि बागमती प्रदेश हुँदै भारत र चीनलाई समेत जोड्न सकिने अवस्था देखिएको बताए।

‘मधेश प्रदेशको सर्लाहीको हरिवनदेखि बागमती प्रदेशको सिन्धुलीको मरिनसम्म करिब ३५ किलोमिटर सडकलाई स्तरोन्नति गरेर जोड्न सकिने देखियो । त्यसका लागि हरिवनबाट धिमिले हुँदै मरिनको क्यानेश्वरसम्म १३ किलोमिटर र क्यानेश्वरदेखि मरिनसम्म २२ किलोमिटर सडक स्तरोन्नति गर्नुपर्ने हुन्छ । दुवै प्रदेशले आफ्नो क्षेत्रमा पर्ने सडकलाई आवश्यक बजेट छुट्याएर काम थाल्ने सहमति भएको छ,’ उनले भने, ‘यसलाई बहुवर्षीय योजनाअन्तर्गत काम गर्न थाल्यौँ भने दुवै प्रदेशका जनताले लाभ लिन सकिने देखियो।’

यस्तै, मन्त्री काफ्लेले सिन्धुलीको मरिनदेखि काभ्रेको नेपालथोक दुम्जासम्म पनि उक्त सडकलाई विस्तार गर्न सकिने अवस्था रहेको बताए । थप ३५ किलोमिटर सडक विस्तार गर्दा मधेश प्रदेशको सर्लाहीदेखि काभ्रेको नेपालथोक दुम्जास्थित बिपी राजमार्गसम्मा सडक सञ्जाल वसस्तार गर्न सकिने उनको भनाइ छ।

यता, मधेश प्रदेशका अर्थमन्त्री सुनील यादवले पनि मधेश प्रदेशलाई बागमती प्रदेशका पहाडी क्षेत्रसँग जोड्न उक्त सडकखण्ड आवश्यक रहेको बताए । सर्लाहीको हरिवनदेखि सिन्धुलीको मरिनसम्मको सडकलाई विस्तार गर्न सके मधेशको उत्पादन पहाड र पहाडको उत्पादन तराईसम्म पुर्‍याउन सहज हुने उनको भनाइ छ ।

‘यो बाटोले मधेश र बागमतीलाई जोड्ने मात्र नभई यस क्षेत्रका स्थानीयको आर्थिक उन्नतिमा समेत टेवा पुग्ने देखिएकाले दुवै प्रदेशले प्राथमिकतामा राखेर निर्माण गर्न हामी सहमत भएका हौँ । आउने बजेटमा दुवै प्रदेशले यस बाटोको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सहमति भएको छ,’ उनले भने ।

मधेश प्रदेशका अर्थमन्त्री यादवले मधेश प्रदेश सरकारले यो सडक निर्माणलाई प्राथमिकताका दिने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीद्वयले सडक अवलोकनका क्रममा हरिवन उद्योग वाणिज्य संघ र हरिवन, धिमिले, क्यानेश्वर र मरिनका स्थानीय एवं राजनीतिक दलका प्रतिनिधिहरूले सडकको उपयोगिता र आवश्यकताको विषयमा जानकारी गराएका थिए । उनीहरूले मन्त्रीद्वयलाई उक्त सडकखण्डलाई प्राथमिकताका दिन आग्रह गरेका छन् ।