झापाको बुद्धशान्ति गाउँपालिका– २ का अध्यक्ष डिल्लीप्रसाद ओली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई घुस लिएको भन्दै सजाय सुनाएको हो ।
विशेषका अध्यक्ष टेकनारायण शर्मा तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १२ कात्तिकमा ओलीउपर मुद्दा चलाएको थियो ।
आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले ओलीलाई ८० हजार घुससहित नियन्त्रणमा लिएको थियो । उनले जग्गा पास गर्नेसम्बन्धी वडा कार्यालयमा भएको सहमति निर्णय कार्यान्वयनका लागि उक्त घुस लिएको अनुसन्धानले देखाएको थियो ।
उनलाई विशेषले चार महिना कैद हुने सजाय सुनाएको छ भने घुसबापतको रकम उनले जरिवाना तिर्नुपर्ने फैसला भएको छ । यसैगरी अपराध पीडित संरक्षण ऐनअनुसार क्षतिपूर्ति शुल्कबापत ३२ सय रुपैयाँ भराउनुपर्नेछ ।