भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउँपालिका– ४ दोहली गुल्मीमा ७७२ जना महिला आबद्ध भएका छन् । संस्थाको छैटौँ वार्षिक साधारणसभासम्म संस्थामा ७७२ जना महिला एकीकृत भएर लगानी गरेका छन् भने आफूहरूबिचमा कर्जा प्रवाह गरेर अर्थोपार्जनको गतिलो आधार सहकारी बनाएका छन् ।
बुधबार संस्थाको छैटौँ वार्षिक साधारणसभाको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे । उनले गत वर्ष झुक्यानमा परेका कारण सहकारीको भवनका लागि बजेट व्यवस्थापन गर्न नसकेको बताउँदै आगामी दिनमा त्यस्तो नहुने प्रतिबद्धता जनाए । उनले महिलाहरूले नै नेतृत्व गरेको सहकारीले छोटो समयमा गरेको प्रगति निकै लोभलाग्दो भएकाले सधैँ रचनात्मक कामका लागि आफूले सहयोग गर्ने बताए । उनले आफू प्रमुख अतिथि भएको सबै कार्यक्रम इस्मा गाउँपालिका नेतृत्वले सधैँ बहिष्कार गर्ने गरेकोतर्फ केन्द्रित हुँदै त्यो चरित्रले केही फरक नपर्ने बताए । ‘सयौँ दिदीबहिनीको कार्यक्रममा गाउँपालिका नेतृत्व सधैँ उपस्थित नहुने कस्तो विडम्बना । अहिले मतदाता बुझ्नेछन्, बहिष्कारले मलाईभन्दा उनलाई नै घाटा हुने हो,’ उनले भने, ‘उनीहरू आगामी चुनावमा भोट माग्न कसरी घर–घर पुग्लान् ।’
कार्यक्रममा इस्मा गाउँपालिकाका संस्थापक अध्यक्ष लक्ष्मण विष्टले सहकारीको प्रगति देख्दा विगतमा संस्था स्थापना गर्न पाएको दुःख बिर्साएको बताए । उनले वर्तमान गाउँपालिका नेतृत्वले नयाँ कामभन्दा पुराना काम रोक्ने र जनतामा भ्रमको खेती गरेको भन्दै खेद प्रकट गरे । ‘विगतको कार्यपालिकाका गल्ती सच्याउँदै छौँ भनेर सार्वजनिक कार्यक्रममा बोल्दै हिँडेको सुनेको छु । भ्रम जनताले बुझेका छन्, पालिका गएर त्यसको प्रमाण खोज्छौँ,’ उनले भने, ‘निःशुल्क भर्ना शुल्क कटाएर, अपांग भत्ता रोकेर खुब गर्व गर्नेहरूले ठुलो मूल्य चुकाउनुपर्नेछ ।’
कार्यक्रमा इस्मा गाउँपालिका– ४ का वडाध्यक्ष राजु बस्नेत, वडा सदस्य रामु कार्की, पूर्वकार्यपालिका सदस्य कमला गौतम, खानेपानी बोर्डका उपाध्यक्ष विष्णु गौतम, इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष विमला थापा, सल्लाहकार मुना घर्तीलगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै, संस्थाकी अध्यक्ष सीता अर्यालको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक सीता घर्तीद्वारा प्रस्तुत संस्थाको लेखा प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।