मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
एनपिएल पहिलो संस्करणको विजेता बनेपछि जनकपुर बोल्ट्सका खेलाडी समर्थकमाझ खुसी बाँड्दै । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ पौष ७ आइतबार o६:५४:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनपिएलको फाइनलमा सुदूरपश्चिम स्तब्ध : निर्णायक भेटमा जनकपुरले मार्‍यो बाजी

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार o६:५४:oo

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । त्रिवि क्रिकेट मैदानमा हजारौँ समर्थकमाझ जनकपुर बोल्ट्सले एक च्याम्पियन शैलीमा पहिलो संस्करणको एनपिएल उपाधि उचाल्यो । अझ जनकपुरले समूह चरणदेखि प्लेअफसम्म ब्याटिङ, बलिङ र फिल्डिङमा एकनाश प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको जित निकाल्यो । प्रतियोगितामा पहिलोपटक सुदूरपश्चिम बलिङ र फिल्डिङ चुक्न पुग्दा उपविजेतामा सीमित भयो ।

उपाधि भिडन्तको महत्वपूर्ण पक्ष नै ब्याटिङ शक्ति रह्यो । सुदूरपश्चिमले सुरुमै दमदार ब्याटिङ गरी २० ओभरमा नौ विकेट गुमाएर १८४ रनको बलियो योगफल खडा गर्‍यो । एक किसिमले यो योगफल जनकपुरका लागि चुनौतीपूर्ण थियो । फाइनलअघिसम्म ब्याटिङमा कमजोर मानेको जनकपुर निर्णायक दिनमा फरक रूपमा प्रस्तुत भयो । लोभलाग्दो स्ट्रोक लगाउँदै जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर १८५ रन जोड्दै च्याम्पियन ट्रफी उचाल्यो ।

फाइनल खेलाइएको ब्याटिङ पिचमा दुवै पक्षका बलर निरीह देखिए । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजेतालाई संयुक्त रूपमा ट्रफी प्रदान गरेका थिए । एनपिएलमा काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स समूह चरणबाटै बाहिरियो । राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले एक मात्र जित निकालेको थियो ।

जनकपुर र सुदूरपश्चिमका ओपनर चम्के
मैदानभित्र र बाहिर रहेका हजारौँ दर्शकसँगै विभिन्न सोसल मिडियादेखि टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकहरूले पहिलो तथा दोस्रो इनिङ्सका पावल प्लेमा भरपुर मनोरञ्जन लिए । सुदूरपश्चिम र जनकपुरका ओपनरहरू चल्दा फाइनलमा चौका र छक्काको वर्षा भएको थियो । तर, फिनिसिङ पक्ष भने दुवै टोली कमजोर देखिएको थियो । डेथ ओभरका खेलाडी रन बनाउन संघर्षरत देखिए । एनपिएलमा पहिलोपटक दुवै इनिङ्समा विकेट पतन भएन । सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरद्वय विनोद भण्डारी र सैफअली जैवले ४८ रन बनाएका थिए ।

त्यसपछि जनकपुरका लाहिरू मिलन्था र कप्तान आसिफ सेखले ७१ रन जोडेका थिए । पावर प्लेका विस्फोटक इनिङ्सका कारण नै जनकपुरले जितको आधार खडा गरेको हो । जनकपुरले पावर प्लेमा सुदूरपश्चिमको २३ रन बढी जोडेको थियो । सुदूरपश्चिमका सैफले ४३ बलमा आठ चौका र दुई छक्का प्रहार गरी ६९ रन र विनोदले ३१ बलमा तीन छक्का र एक चौका प्रहार गरी ४१ रन जोडे । यिनीहरूले पहिलो विकेटका लागि ११.६ ओभरमा ११७–१ को प्रदर्शन गरेको थियो ।

जनकपुरका लाहिरू र सेखले पहिलो विकेटका लागि ६.६ ओभरमा ७३–१ को प्रदर्शन गर्न सफल रहे । सेखले १९ बलमा चार चौका र दुई छक्का प्रहार गरी ३३ रन बटुले । लाहिरूले ४९ बलमा नौ चौका र चार छक्काको सहयोगमा ८७ रन जोडे । उनी शतकीय इनिङ्स खेल्न १३ रनले चुके । तर, जनकपुरलाई पहिलो संस्करणको च्याम्पियन बनाउन उनले च्याम्पियन शैलीमै ब्याटिङ गरेका थिए ।

डेथ ओभरमा ब्याटिङ संघर्ष
ओपनरहरूले बलियो आधार बनाएको पिचमा दुवै टोली डेथ ओभरमा कमजोर देखिए । सुदूरपश्चिमले १६ देखि २० ओभरको डेथ ओभरमा ४१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । यसअघि सुदूरपश्चिम १५ ओभरको खेल समाप्तिसम्म १४३–३ को दरिलो अवस्थामा थियो । पुरै इनिङ्स सकिँदा सुदूरपश्चिम १८४–८ को स्थितिमा रह्यो । लक्ष्य पछ्याएको जनकपुरले १६ ओभरसम्म १७४–३ को प्रदर्शन गरेको थियो । त्यसबेला जितका लागि जनकपुरलाई केवल आठ रन आवश्यक थियो । तर यस अवधिमा दुई विकेट गुमाउँदा सुदूरपश्चिम खेलमा फर्कने प्रयास गर्‍यो ।

सुदूरपश्चिमले डेथ ओभरमा उत्कृष्ट बलिङ गरेको थियो ।सुदूरपश्चिमका बलरले उत्कृष्ट बलिङ गर्दै खेललाई अन्तिमसम्म पुर्‍याए । डेथ ओभर अगाडि जनकपुरलाई जितका लागि २४ बलमा १३ रन मात्र आवश्यक थियो । जनकपुरका हर्ष थाकरले २४ बलमा दुई छक्का प्रहार गरी ३० रन जोडे । सुदूरपश्चिमका बलरले १८ अतिरिक्त रन दिँदा जनकपुरको जित सहज भयो ।

मैदानभित्र र बाहिर हजारौँ दर्शक

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

जनकपुर र सुदूरपश्मिबिचको फाइनल खेलअगाडि शुक्रबार अनलाइनमा टिकट खुल्दा केही घण्टाभित्र नै सोल्ड आउट भएको थियो । यसले सहजै अनुमान लगाउन सकिन्थ्यो, शनिबार त्रिवि क्रिकेट मैदानमा समर्थकले पाइला टेक्ने स्थान पाउन मुस्किल हुन्थ्यो । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले टिकटअनुसार जोनको व्यवस्था गरेको थियो । उपाधि भिडन्त दिउँसो १२:३० बजे भए पनि समर्थकहरू खेल हेर्न मिल्ने स्थान सुरक्षित गर्न बिहानदेखि नै त्रिवि मैदानबाहिर पुगेका थिए । त्रिभुवन विश्वविद्यालयभित्र प्रवेश गर्ने मुख्य गेट र कीर्तिपुरको चार दोबाटोबाट समर्थकलाई सुरक्षाकर्मीले छिर्न अनुमति दिएपछि हातमा टिकट बोकेका हजारौँ दर्शक लाइनबद्ध भए ।

बल्खु चोकदेखि त्रिवि मैदानको गेटसम्म सुदूरपश्चिम र जनकपुरको जर्सी लगाएका समर्थकहरू लहरै हिँडिरहेका देखिन्थे । सुरक्षाकर्मीले व्यवस्थित रूपमा दर्शकलाई भित्र प्रवेश गराउन कोसिस गरिरहेका देखिन्थे । सुरक्षाकर्मी माइकिङ गर्दै भिड मिलाउन कोसिसमा थिए । टिकट र पास भएका समर्थक सहजैभित्र छिरे । तर, टिकट र पास नभएका हजारौँ दर्शक भने बाहिर उभिन बाध्य भए । त्रिवि मैदानको उत्तर दिशामा रहेको मैदानबाहिर टेक्ने ठाउँ भएसम्म दर्शकले फाइनलको मनोरञ्जन लिए ।

यति मात्र नभएर केही दर्शक आफ्नो ज्यानै जोखिममा राखेर रुखमै चढेर खेल हेरे । यसबिच सुरक्षाकर्मीले रुखमा रहेका दर्शकलाई आग्रहपूर्वक तल आउन भनेका थिए । ‘तपाईंहरूलाई टिकट व्यवस्था गर्छौँ, कृपया तल आउनुस्,’ सुरक्षाकर्मीले माइकिङ गर्दै यस्तो भनेका थिए । तर, ती रुखमा रहेका दर्शकहरू सुरक्षाकर्मीले जतिपटक माइकिङ गरे पनि तल आएनन् र रुखमै बसी अन्तिमसम्म खेल हेरे ।

जति टिकट काटेर भित्र दर्शकले हुटिङ गरेका थिए, त्यसको दोब्बर समर्थन बाहिर थियो । सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी विशाल योगफल बनाउँदा उसका समर्थक दंग थिए । त्यसवेला जनकपुरका समर्थक केही निराश देखिन्थे । जब जनकपुरका ओपनरद्वयले पहिलो संस्करणको विजेता बनाउने आधारशिला तयार पारेका थिए, यसवेला सुदूरपश्चिमका समर्थक बिस्तारै मैदान छाडेर बाहिरिए ।

लक्ष्य पछ्याएको दोस्रो इनिङ्सको डेथ ओभरमा लगभग सिंगो त्रिवि मैदानमा जनकपुरका समर्थकहरूले जितको खुसियाली मनाउन थालेका थिए । केही जनकपुरका समर्थकले केक काटेरै जितको खुसियाली मनाएका थिए ।

ब्ल्याकमा प्रतिटिकट ६ हजारसम्म
रंगशालामै पुगेर उपाधि भिडन्त हेर्न योजना पूरा गर्न विभिन्न क्षेत्रबाट दर्शक आए । केहीले ब्ल्याकमा चर्को मूल्य तिरेर पनि टिकट लिए । चितवनदेखि जनकपुरको समर्थन गर्न एक दर्शकले ४५ सयसम्म ब्ल्याकमा टिकट किने । ‘बिहान चितवनबाट विमान चढेर यहाँ आएँ, अब फाइनलपछि बेलुका घर फर्कन्छु,’ जोन २ का ती जनकपुरका समर्थकले भने, ‘म मात्र नभएर मेरा साथीले पनि ब्ल्याकमै टिकट किनेका छन् ।’ उनका अनुसार त्रिवि मैदानबाहिर दुई हजारदेखि ६ हजारसम्म फाइनलको टिकट ब्ल्याकमा सहजै बिक्री भइरहेको थियो ।