मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा अलपत्र परेका श्रमिकको उद्धार तथा राहतका लागि उद्धार केन्द्र स्थापना गर्न लागेको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२४ को अवसरमा बुधबार मधेश प्रदेशकाे श्रम तथा यातायात मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले यस्तो बताएका हुन्।
वैदेशिक रोजगारको क्रममा विश्वका विभिन्न मुलुकमा पुगेर अलपत्र परेका वा कुनै समस्यामा परेका श्रमिकहरूको तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले उद्धार केन्द्र स्थापना गर्न लागेको मन्त्री रायले बताए।
उद्धार केन्द्रको स्थापनाको लागि कार्यविधि निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए। उनले भने, ‘शिक्षा, स्वास्थ्य तथा रोजगारीको अवस्था दयनीय रहेको मधेश प्रदेशका ८० प्रतिशत घरपरिवारका मान्छे वैदेशिक रोजगारीमा गएका छन्। त्यसकारण यहाँका बहुसंख्यक जनताको भावनालाई बुझेर प्रदेश सरकारले बिदेसिएकाहरूलाई प्राथमिकतामा राखेर विभिन्न कार्य अगाडि बढाएको छ।’
चालू आर्थिक वर्षमा प्रदेश सरकारले विदेशबाट फर्केका व्यक्ति स्वदेशमै कुनै व्यवसाय वा साना घरेलु उद्योग खोल्न चाहेमा प्रदेश सरकारले त्यस्त व्यक्तिलाई तालिम तथा अनुदानको व्यवस्था गरेको मन्त्री रायले बताए। त्यसैगरी, कुनै व्यक्तिले विदेश जाने मनसाय बनाए ,उसलाई कामको प्रकृतिअनुसार तालिम तथा सम्बन्धित देशको भाषा ज्ञान दिने मन्त्री रायले बताए।
उनले वैदेशिक रोजगारीमा जानुअघि तालिम तथा सम्बन्धित देशको भाषाबारे जानकारी लिएको खण्डमा विदेशमा जोखिम कम हुने बताए। कार्यक्रममा आप्रवासी संघले मन्त्री रायलाई १८ बुँदे ज्ञापनपत्रसमेत बुझाएका थिए। श्रम तथा यातायात मन्त्रालयका उपसचिव रन्जित यादवले मधेशबाट वैदेशिक रोजगरीमा गएकाहरूको डाटा संकलन तथा सिप सिकाउने कार्य भइरहेको बताए।