सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने श्रीराम भन्ने शिवेन्द्र मण्डल पक्राउ परेका हुन्।
गर्भपतन गरे/ गराएको मुद्दमा फरार रहेका मण्डललाई मंगलबार पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए। सप्तरी जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको एकल इजलासले शिवेन्द्रलाई २५ दिन कैद र तीन हजार जरिवानाको फैसला गरेको छ। ‘तर, उनी फरार रहँदै आएका थिए ।’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘मंगलबार पक्राउ गरेर सप्तरी जिल्ला कारागार पठाएका छौँ।’
कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जचाउँदा गर्भ खेर गएको पुष्टि भएको थियो। उक्त विषयमा नयाँ पत्रिकामा ‘छिमेकीको कुटाइले तुहियो गर्भ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।