बर्दियाको ठाकुरबाबा नगरपालिकाले लोप हुन लागेका रैथाने बालीको संरक्षणका लागि बिउ उत्पादन थालेको छ । कुनै समयमा बर्दियामा खेती हुने स्थानीय रैथाने धानबालीको बिउ उत्पादन गरी कृषकलाई वितरण गर्न थालिएको छ ।
नगरपालिकाले सघन कृषि कार्यक्रमअन्तर्गत पाँच बिघा जग्गा भाडामा लिएर लोपोन्मुख कृषि बालीको खेती गरी बिउ उत्पादन गरेको छ । रैथाने धान कालानमक र मसिनो जातको धान ठाकुरबाबा नगरपालिका– ५ वनकट्टीमा खेती गरिएको छ । उक्त खेतीमा पालिकाअन्तर्गत रहेका कृषि शाखामा कार्यरत कर्मचारीदेखि ६ जना कृषि प्राविधिकले प्रशिक्षार्थीको रूपमा काम गरेको कृषि प्राविधिक वीरेन्द्र रावतले बताए ।
यस वर्ष नगरपालिकाले गरेको खेतीमा २० क्विन्टल कालानमक धान उत्पादन हुने अनुमान गरिएको छ । ग्रेडिङ गरेर करिब १५ क्विन्टल उच्च गुणस्तरको कालानमक धानको बिउ उत्पादन हुने कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए । बिउबाहेकको कालानमक धान मसिनो बास्नादार धानबाट ठाकुरबाबा ब्रान्डको चामल उत्पादन गरेर बिक्री गरिने उनले बताए । उनका अनुसार ३० क्विन्टल बास्नादार मसिनो जातको धान उत्पादन भएको छ ।
धानसँगै ठाकुरबाबा नगरपालिकाले रैथाने जातको थारू आलु, स्थानीय हिउँदे सिमीको खेतीसमेत गरेको छ । केही वर्ष अघिदेखि खेती सुरुवात गरेको थारू आलु हाल १५ बिघा क्षेत्रफलमा पालिकाले नै खेती गरेको छ भने यस वर्षदेखि स्थानीय सिमीको समेत खेतीको सुरुवात गरिएको कृषि शाखा प्रमुख बमले बताए ।
त्यसैगरी, यसपछि सुजी गहुँको खेती गर्ने तयारी गरिरहेको छ । कृषकहरूले हेर्ने र यसरी पनि खेती हुने रहेछ भनेर सिक्नका लागि यो खेती गरेको उनले बताए । कालानमक धान लोप हुँदै गएको बालीअन्तर्गत पर्दछ । कालानमक धानको मूल्य पनि अन्य धानको तुलनामा दोब्बर रहेको छ । लोपोन्मुख बालीको संरक्षणका साथसाथै किसानलाई पाठशालाको रूपमा कृषिमा भित्रिएको प्राविधिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
लोपोन्मुख रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउ उत्पादन गर्ने लक्ष्य लिएर खेती सुरु गरिएको बताउँदै आगामी दिनमा थप क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लम्सालले बताए ।