Skip This
करिब १७ लाख बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार o७:२७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

करिब १७ लाख बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार o७:२७:oo

आगामी २३ माघदेखि देशभरका १० देखि १४ वर्षसम्मका बालिकालाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिइने भएको छ । १५ दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत देशैभरका १६ लाख ८८ हजार नौ सय बालिकालाई खोप दिइने भएको हो । सानै उमेरदेखि पाठेघरको क्यान्सरको जोखिम कम गर्न विद्यालयस्तरमै बालिकालाई खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आगामी वर्षदेखि नियमित खोपमा समावेश गर्न लागिएको एचपिभी खोप यस वर्ष भने गाभीको सहयोगमा दिन लागिएको हो । गाभीले चीनमा उत्पादित सिकोलिन नामक ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप आगामी डिसेम्बरमा नेपाललाई दिन लागेको हो । एक डोज मात्रै दिइने खोप देशभर ७ देखि १० कक्षामा पढ्ने वा १० देखि १४ वर्षको बालिकालाई दिन लागिएको मन्त्रालयले जनाएको हो । 

नेपालमा हरेक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको अवस्थामा क्यान्सर रोकथामका लागि खोप अनिवार्य देखिएकाले नियमित खोपमा समावेश गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । पाठेघरको क्यान्सर रोकथामबाट धेरैको ज्यान जोगाउन सकिने भएकाले खोप अभियानकै रूपमा दिने तयारी गरिएको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताए । ‘धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौँ । किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रूपमा खोप थाल्ने निर्णय गरेका हौँ,’ उनले भने ।

नेपालमा एचपिभी खोप अभियान तेस्रोपटक गर्न लागिएको हो । यसअघि पहिलोपटक २०१६ मा कास्की र चितवनमा ११ देखि १३ वर्ष उमेरका बालिकालाई खोप दिइएको थियो । र, गत वर्ष सातवटै प्रदेश अस्पतालबाट १४ देखि १५ वर्ष उमेरका किशोरीलाई खोप दिइएको थियो । नौ हजार बालिकामा दुई डोज खोप लगाइएको थियो । यसपटक भने देशभरकै बालिकालाई समेट्ने गरी खोप अभियानको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)का कारण हुन्छ । एचपिभीविरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । नेपालले दक्षिण–पूर्वी एसियाको रणनीतिअनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । जसअन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका बालिकामा नियमित खोप सञ्चालन गर्ने योजना समावेश छ ।