एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औँ महाधिवेशनपछि पार्टीको गति बढेको दाबी गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले प्रकाशित गरेको नेपाल संवत् ११४५ को क्यालेन्डर विमोचन कार्यक्रममा नेपालले जनतामा आशा जगाउने गरी पार्टी काम गरिरहेको दाबी गरे ।
महाधिवेशनपछि उदयपुर, रौतहटमा र धनुषामा बृहत् कार्यक्रम गरेको स्मरण गर्दै नेपालले गति बढेको दाबी गरेका हुन् । ‘निराशाका कुरा गर्ने होइन, हाम्रो पार्टीको गति बढेको छ । उदयपुर, रौतहट, धनुषामा हजारौँको संख्यामा पार्टी प्रवेश गराएर कार्यक्रम सम्पन्न भएका छन् । हालै कर्णाली प्रदेशको प्रथम अधिवेशन सानदार रूपमा सम्पन्न भएको छ । यसरी हेर्दा पार्टीको गति निरन्तर बढिरहेको छ,’ उनले भने । उनले नेपालको परिवर्तनमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि दाबी गरे । ‘यो मुलुकमा कसैले काम गरेको छ भने हामीले गरेका छौँ, गणतन्त्र कसैले ल्याएका छौँ भने हामीले ल्याएका छौँ । गणतन्त्र नेपालमा आउँदैन भन्नेहरू पनि यही पार्टीभित्र थिए,’ नेपालले भने, ‘गीत गाएर मात्र होइन, विरोध नै गरेर हिँडेका थिए ।’
एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नेपालले गणतन्त्र ल्याउने र राजतन्त्र हटाउने सवालमा उत्साह बढाउने नभई घटाउने काम गर्नेहरूको वास्ता नगरी अगाडि बढेको स्मरण गरे । ‘हामीले टेरेनौँ, वास्ता गरेनौँ । हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरू बसिरहन्छन्, थन्किन्छन् । बस्नेलाई बस्न देऊ, जानेलाई जान देऊ भन्यौँ र हिँडिरह्यौँ ।’ राजतन्त्रविरुद्ध बोल्न अरू पार्टीले पनि हिम्मत नगरेको उनले दाबी गरे । ‘कांग्रेसले पनि खुट्टा कमायो । बेबी किङ भन्न थाल्यो र हामीले एक्लै आँट गर्यौँ, परिवर्तनलाई साकार पार्यौँ,’ नेपालले भने ।