हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किएर एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । पेट्रोल बोकेको ट्यांकरको टायर मर्मत गर्ने क्रममा पड्किएकाे हाे ।
घटनामा परेर मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका- ११ थानाभर्याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । टायर विस्फोटपछि गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार मंगलबार राति १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरबाट हावा गएको थियो । टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट भएको हाे ।
टायर विस्फोटबाट उनको टाउको र शरीरको बायाँतर्फ गम्भीर चोट लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिका– २ का १८ वर्षीय जाबिर हवारी, मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकरचालक हेटौँडा– ११ स्मारका ३९ वर्षीय देवान लामा, अर्को ट्यांकरचालक धादिकको धुनीबेँसी नगरपालिका– २ भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, हेटौँडा- ११ नवपलुरका ४७ वर्षीय मोहनलाल दुलाल र धादिङको थाक्रे गाउँपालिका– ८ का लक्ष्मण थापा घाइते भएका छन् ।
घाइतेमध्ये मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको ट्यांकरचालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिल अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अन्य चारजना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए ।