१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २९ बिहीबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २९ बिहीबार o९:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ताजकिस्तानविरुद्ध नेपालको फितलो प्रदर्शन

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपाल ताजकिस्तानसँग ४–० ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २९ बिहीबार o९:४२:oo

पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको नेपाली राष्ट्रिय पुरुष टोली पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ताजकिस्तानसँग ४–० ले पराजित भएको छ । सेन्ट्रल रिपब्लिकन रंगशालामा बुधबार भएको प्रतिस्पर्धामा ताजकिस्तानको जितमा सेर्भोनी माबत्सोएब र मनुचेखर जालिलोभले समान दुई गोल गरेका थिए । नेपालले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा एक गोल सामना गरेको थियो । नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल अफगानिस्तानसँग शनिबार खेल्नेछ । 

नेपालका कार्यवाहक प्रशिक्षक नवीन न्यौपानेले ताजकिस्तानविरुद्ध आक्रामक शैलीमा प्रतिस्पर्धा गर्ने बताए पनि खेल रक्षात्मक थियो । खेलको सुरुदेखि नै शारीरिक रूपमा बलियो ताजकिस्तानले नेपालको पोस्टमा आक्रमण गरेका थिए । यसकारण नेपालले सुरुमै डिफेन्स रणनीति अपनाउनुपरेको थियो । २९ जेठपछि प्रतिस्पर्धा गर्न उत्रिएका खेलाडीबिच आपसी तालमेल पटक्कै मिलेन । 

डिफेन्सदेखि फिनिसिङसम्म कमजोर प्रदर्शन गरेको नेपालको पोस्टमा ताजिकिस्तानले खेलको १९औँ मिनेटमा १–० को अग्रता लियो । माबत्सोएबले नेपालको डिबक्समा डिफेन्सको कमजोरी फाइदा लिँदै सहजै गोल गरे । खेलको २९औँ मिनेटमा जालिलोभले २–० को अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा माबत्सोएबले व्यक्तिगत दोस्रो गोल गर्दा ताजकिस्तान ३–० ले अगाडि बढ्यो ।

पहिलोको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गर्‍यो । तर, फर्ममा रहेको र घरेलु मैदानमा ताजकिस्तानले खेलको ५०औँ मिनेटमा ४–० को अग्रता बनायो । जालिलोभले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाउन सफल भए । प्रतिस्पर्धामा प्रशिक्षक न्यौपानले मिडफिल्डर रोहन कार्कीलाई सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गराए । फिफा वरीयतामा ७१ स्थान माथि रहेको ताजकिस्तानविरुद्ध नेपालले सात वर्षपछि पहिलोपटक प्रतिस्पर्धा गरेको हो । नेपालले विपक्षको पोस्टमा खासै आक्रमण गर्न सकेन ।