१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
२o८१ कार्तिक २८ बुधबार ११:१९:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दैलेख पेट्रोलियम अन्वेषण : ८० प्रतिशत काम सकियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार ११:१९:oo

अन्वेषण स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि

दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणको कार्य ८० प्रतिशत सकिएको छ । ०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम तीन हजार एक सय मिटर पुगेको छ । चार हजार मिटरदेखि चार हजार पाँच सय मिटरसम्म जमिनमुनि ड्रिलिङ पाइप पुर्‍याउने र पेट्रोलियम पदार्थको भण्डारण पत्ता लगाउने अभियानअन्तर्गत यो कार्य सञ्चालनमा छ ।

अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् । अझै यकिन भन्न सकिने अवस्था त छैन, तर जमिनमुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिएअनुसार केही लिकेज ग्यासहरू देखिएको छ । यसले सकारात्मक संकेत गरेकाे अधिकारीहरू बताउँछन् । साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ । अहिले जमिनमुनि साना भण्डारणहरूसमेत देखिएकाले थप आशा र उत्साह बढेको पदाधिकारीहरूले बताए । 

भण्डारण पत्ता लागेपछि मात्र आर्थिक विश्लेषण गरेर उत्पादनका लागि थप कामहरू अगाडि बढाइने भएको छ । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो । अन्वेषण कार्यले नेपालमा उत्पादनयोग्य पेट्रोलियम पदार्थ भेटिन सक्ने सम्भावना धेरै भएकाले दैलेखका बासिन्दाहरू खुसी देखिएको प्रतिनिधिसभा सदस्य दीपा शर्माले जानकारी दिएकी छिन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा सम्झौता भएको यो परियोजना वर्तमानमा पनि ओली प्रधानमन्त्री भएकै वेलामा सम्पन्न हुने र देशको आर्थिक अवस्था सुधारको एउटा चरण सुरु हुने आशा गरिएको शर्माको भनाइ छ ।

सरकारले विभिन्न देशहरूसँग सहकार्य गरेर धेरै आयोजना सुरु गरेको छ । अधिकांश योजना लथालिंग अवस्थामा छन् । कतिपय  पूरा भएका छैनन्, तर चीन सरकारको यो परियोजना छिटो काम भएको र प्रतिफल पनि राम्रो आउने आशा लागेको स्थानीय कोकिला शर्माको भनाइ छ । विगत १७ वर्षदेखि सुरु हुन्छ भनेर काम थालनी नभएको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा पनि सरकारले यस्तै तदारुकता देखाउनुपर्ने स्थानीयको माग छ । 

अन्वेषण स्थलमा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि

दैलेख जिल्लाभित्र मध्यपहाडी सडकखण्डको १२५ किलोमिटर सडक पूर्ण रूपमा कालोपत्रे सम्पन्न भएसँगै समग्र दैलेखको आर्थिक अवस्था सुधारका बाटाहरू खुलेका छन् । दैलेखको शिरस्थाननजिकै जलजले क्षेत्रमा सुरु गरिएको पेट्रोलियम अन्वेषण स्थल, मध्यपहाडी राजमार्गसँगै जोडिएको स्थानमा छ । कर्णाली प्रदेशको रारा घुम्ने पर्यटकहरूको सिजन भदौदेखि जेठसम्म रहेका कारण अधिकांश रारा पुगेर फर्कने पर्यटकहरू यतिवेला दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र र अन्वेषण स्थल पुगेर गन्तव्यमा फर्कने गरेका छन् । 

दिनहुँ दुई सयदेखि तीन सयसम्म पर्यटक आएर फोटो खिच्ने गरेको स्थानीयको भनाइ छ । अहिले जलजले क्षेत्रमा होटेल व्यवसाय गर्ने व्यापारीहरू पनि निकै खुसी देखिएका छन् । एक वर्षअघि दैनिक पाँच सयसम्म व्यापार नहुने उक्त क्षेत्रमा अहिले दैनिक पाँच हजारदेखि १० हजारसम्म व्यापार हुने गरेको जलजलेका व्यापारीहरू बताउँछन् । 

कर्णालीका मुख्यमन्त्री र एमाले उपमहासचिवद्वारा अनुगमन
पेट्रोलियम अन्वेषण कार्यको प्रगतिबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूले आयोजना स्थलमा अनुगमन सम्पन्न गरेका छन् । जिल्ला भ्रमणका क्रममा दैलेख आएका मुख्यमन्त्री यामलाल कँडेलले आयोजना स्थलमा पुगेर कर्णालीको समग्र विकासका लागि रणनीतिक महत्त्वका ठुला आयोजनाको निर्माण गर्ने र निष्कर्षमा पुर्‍याउनुपर्ने अभियान प्रदेश सरकारले पनि सुरु गर्ने बताए। 

एमालेका उपमहासचिव एवं स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले नेकपा एमाले समृद्धि र दिगो विकासको पक्षमा अहिले मात्र हाेइन, उहिलेदेखि नै रहेको तथ्य दैलेखको अन्वेषण स्थल हेरेपछि प्रस्ट हुने बताए । उनले भने, ‘अन्य पार्टीभन्दा एमाले विकास र समृद्धिको पक्षमा छ । हिजो पनि थियो आज पनि छ, भोलि पनि रहनेछ । अहिले सरकारमा रहेका प्रधानमन्त्री केपी ओलीले सुरु गरेको यो परियोजना उहाँकै पालामा सम्पन्न हुने र देशको आर्थिक अवस्था सुधारको एउटा ढोका खुल्नेमा आफूहरू विश्वस्त रहेका छौँ ।’