Skip This
माओवादीप्रति देशभर आकर्षण बढ्दो छ : प्रचण्ड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
२o८१ असोज २ बुधबार २३:o७:oo
Read Time : < 1 मिनेट
समाचार

माओवादीप्रति देशभर आकर्षण बढ्दो छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार २३:o७:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीप्रति देशभर आकर्षण बढ्दै गएको बताएका छन् । परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको उल्लेख गर्दै उनले सबैतिर पार्टीप्रति जनआकर्षण गर्दै गएको बताएका हुन् ।

माओवादीको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त परामर्श बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा बुधबार सम्बोधन गर्दै प्रचण्डले जनआकर्षणलाई अवसरमा बदलेर अघि बढ्नुपर्ने बताए । ‘अरू वेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो । तर, अहिले सबैतिर उत्साह देखिएको छ,’ उनले भने, ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले हटाएको जनताले बुझ्दै गएका छन् । सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’ पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएकोमा उनले जोड दिए । 

केन्द्रीय समिति बैठकको तयारीस्वरूप माओवादीले विभिन्न प्रदेशमा परामर्श बैठक गरेको छ । अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब प्रवास प्रदेशअन्तर्गतको अमेरिका र युरोप संगठन समितिको परमर्श बैठक बाँकी छ । परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादीले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने तयारी रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।