
प्रहरीले एकै साताभित्र चारजना लागुऔषध कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको विषयमा के भन्नुहुन्छ?
घटनाको ‘ग्राउन्ड रियालिटी’ नबुझी यसै भन्न सकिन्न । तर, अन्य अपराधका घटनामा भन्दा लागुऔषधका घटनामा अलि बढी नै मुठभेड हुन्छ । किनकि, लागुऔषधको हकमा आफू त्यसमा संलग्न छैन भनेर अभियुक्त स्वयंले प्रमाणित गर्नुपर्छ । सजाय पनि धेरै हुन्छ । त्यसैले, उनीहरू सजायबाट बच्न सकेसम्म फुत्किन खोज्छन् । त्यसका लागि उनीहरूले प्रहरीमाथि पनि आक्रमण गर्ने सम्भावना बढी नै हुन्छ । यस्तोमा प्रहरीले बाध्य भई आत्मरक्षाका लागि गोली चलाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।
हामीकहाँ लागुपदार्थको दुर्व्यसन किन नियन्त्रण या न्यूनीकरण हुन सकिरहेको छैन?
दव्र्यसन कहिल्यै रोकिन्न । बाहिरी मुलुकमा प्रयोगकर्ताको वृद्धिदर वार्षिक ९/१० प्रतिशत छ भने हामीकहाँ चाहिँ यो पाँच प्रतिशतभन्दा तलै छ । लागुऔषधको दुर्व्यसनमा फसेपछि फर्किन कठिन छ । साथी संगतको प्रभावमा दुर्व्यसनमा फस्ने धेरै छन् । बेरोजगारी, शिक्षामा असफलतालगायतका कारण पनि मानिसहरू दुर्व्यसनी बन्छन् । उपचारपछि पनि सामान्य जीवनमा फर्किने सम्भावना निकै कम हुन्छ । त्यसैले, दुर्व्यसन नियन्त्रण या न्यूनीकरण हुन नसकेको हो ।
राज्यका अन्य जिम्मेवार निकायको भूमिका कमजोर भएकाले यस्तो भएको त होइन?
लागुऔषध नियन्त्रणका चार क्षेत्र हुन्छन् । पहिलो, उत्पादनमै नियन्त्रण । दोस्रो, ओसारपसारमा नियन्त्रण । तेस्रो, माघ घटाउने र चौथो, प्रभावकारी उपचार पुनस्र्थापनाको व्यवस्था मिलाउने । सम्बन्धित सबैले समानान्तर रूपमा काम गरेमा र सरकारले पनि यसलाई प्राथमिकतामा राखेर बजेटलगायत व्यवस्थापन मिलाएमा यसको न्यूनीकरण प्रभावरकारी हुन सक्छ ।