
छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आएको मकवानपुर जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ ।
संघले छैटाैँ संस्करणको गोल्डकप प्रतियोगिता आर्थिक रूपमा घाटा भएपछि सातौँ स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिता गर्न लागेको हो । यसअघिका प्रतियोगिता सम्पन्न भए पनि समयमै प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक नगर्दा स्थानीय तहहरूले प्रतियोगिता सञ्चालन गर्न उपलब्ध गराउँदै आएको रकम कटौती गरेपछि संघले बाध्य भएर महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
संघले शनिबार पत्रकार सम्मेलन गर्दै सातौँ स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप महिला फुटबल प्रतियोगिताका रूपमा गर्न लागेको जानकारी दिएको हो । १९ वैशाखेदेखि सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र पाँचवटा जिल्ला क्लबहरूले सहभागिता जनाउने एन्फाका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिका– ६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल पुलिस, एपिएफसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी आठवटा क्लबले सहभागिता जनाउने उनले बताए ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संघका सचिव छविलाल सुवेदीले जानकारी दिए । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने उनको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।