
पन्जाब किंग्सले १८औँ इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत शुक्रबार ३४औँ खेलमा रोयल्स च्यालेन्जर्स बेंग्लोरमाथि पाँच विकेटको जित निकालेको छ । वर्षाका कारण १४ ओभरमा खेल छोट्याइएको थियो । पहिलो ब्याटिङ गरेको बेंग्लोरले १४ ओभरमा नौ विकेट गुमाएर ९५ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पन्जाबले १२.१ ओभरमा पाँच विकेटको क्षतिमा ९८ रन बयो ।
जितसँगै पन्जाब अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । पन्जाबले सात खेलमा पाँच जित र दुई हारको सामना गरी १० अंक बटुलेको छ । शीर्ष स्थानमा दिल्ली क्यापिटल्सले ६ खेलबाट १० अंक बनाएको छ । रनरेटमा दिल्ली शीर्ष स्थानमा रहेको हो ।
पन्जाबको रोमाञ्चक जितमा नेहाल वधेराले १९ बलमा ३३ रनको नटआउट इनिङ्स खेले । उनले समान तीन चौका र छक्का प्रहार गरेका थिए । उनले छैटौँ विकेटका लागि मार्कोस इस्टोइनिससँग ४ बलमा १७ रनको साझेदारी गर्दै पन्जाबलाई जित दिलाए । पन्जाबका लागि प्रियांस आर्याले १६ तथा जोस इंग्लिसले १४ रनको योगदान दिए ।
यसअघि ब्याटिङ गरेको बेंग्लोरका लागि टिम डेभिडले नटआउट ५० रनको सर्वाधिक योगदान दिएका थिए । उनले २६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए ।
कप्तान रजत पतिदारले २३ रन बनाए । बलिङमा पन्जाबका लागि अश्रदीप सिंह, मार्कोस जान्सेन, युजभेन्द्र चहल र हप्रित बरारले समान दुई विकेट हात पारेका थिए ।