Skip This
कार्यकर्ता प्रशिक्षित गर्न क्यालेन्डर तयार गर्दै कांग्रेस
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ३० शुक्रबार ११:२३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यकर्ता प्रशिक्षित गर्न क्यालेन्डर तयार गर्दै कांग्रेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार ११:२३:oo

कांग्रेसले पार्टीको नीतिबारे प्रशिक्षणका लागि क्यालेन्डरको तयारी थालेको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशनको तीनवर्षे अवधिमा यस्तो तयारी थालेको हो । 

प्रतिष्ठान सदस्य डा. कृष्णप्रसाद पौडेलले समयसापेक्ष प्रशिक्षणका लागि कार्यतालिका बनाउने र प्रशिक्षण सामग्री परिमार्जनको काम थालेको जानकारी दिए । ‘पार्टी तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाका सदस्यलाई पार्टीको आदर्श, सिद्धान्त, मूल्य, मान्यता, नीति, रणनीतिबारे प्रशिक्षित गर्न शैली बदलेर समयसापेक्ष तयारी गरिरहेका छौँ,’ उनले भने, ‘विभिन्न तहमा निश्चित उद्देश्य र कार्ययोजनासहित चार तहमा प्रशिक्षणका लागि क्यालेन्डर लागू गरेर व्यवस्थित गर्न गृहकार्य थालेका छौँ ।’ प्रतिष्ठानले क्रियाशील सदस्यता लिएका पार्टी सदस्यता लिने तथा नवीकरण गर्नुपूर्व आधारभूत प्रशिक्षण लिनुपर्ने गरी पाठ्यक्रम विकास गरी देशव्यापी प्रशिक्षणको व्यवस्था गर्न लागिएको हो ।

कांग्रेसको नीति तय बुझाउने जिम्मेवारी रहेको विभागलाई पार्टीको महत्वपूर्ण विभाग मानिन्छ । प्रतिष्ठानलाई समयसापेक्ष नीति तथा कार्यक्रम बनाउने, विभिन्न विषयमा अनुसन्धान गर्ने र प्रशिक्षणलाई पार्टीको विभिन्न तहमा अभियानका रूपमा सञ्चालन गर्ने दायित्व छ । तर, महाधिवेशनको लामो समयपछि मात्र प्रतिष्ठान सक्रिय बनेको छ । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिष्ठानले समयानुकूल प्रशिक्षण पुस्तक परिवर्तन गर्न कार्यकारी निर्देशक डा. सुरेश आचार्यको संयोजकत्वमा डा. जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा. कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहेको परिमार्जन उपसमिति गठन गरेको थियो । उपसमितिलाई २६ कात्तिकभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । उपसमितिले प्रतिवेदनको आउटलाइन तयार गरेर प्रतिष्ठानमा बुझाएको छ । सदस्य पौडेलले आउटलाइनका विषयमा बुधबार र बिहीबार बसेको प्रतिष्ठानको बैठकमा छलफल गरेको जानकारी दिए । 

‘उपसमितिले गाइडलाइनका रूपमा समयानुकूल परिमार्जनको आउटलाइन तयार गरेको छ । यसबारे छलफल भएको छ । पूर्ण प्रतिवेदन तयार गर्न समय लाग्छ, अहिले प्रतिवेदन परिमार्जनका विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘नयाँ प्रशिक्षण सामग्रीमा नयाँ पुस्तालाई समेट्ने र प्रविधिलाई समेत समेट्न लागेका छौँ ।’

कांग्रेसको १४औँ महाधिवेशन ०७८ मंसिरमा सम्पन्न भएको थियो । सभापति शेरबहादुर देउवाले १० असार ०७९ मा उपसभापति खड्कालाई प्रतिष्ठान प्रमुखमा नियुक्त गरेका थिए । कांग्रेस विधानमा उपसभापति प्रतिष्ठान प्रमुख रहने व्यवस्था छ । १८ वैशाख ०८० मा आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक चयन गरिएको थियो । त्यसबाहेक विभागका गतिविधि हुन सकेका थिएनन् । 

गत ५ कात्तिकमा प्रतिष्ठानमा १८ सदस्य मनोनीत गरिएको थियो । मनोनीत सदस्यको शपथसँगै १४ कात्तिकमा पहिलोपटक प्रतिष्ठानको बैठक बसेको थियो । प्रतिष्ठानलाई कांग्रेस विधानले समसामयिक राजनीतिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पुर्‍याउने जिम्मेवारी छ । त्यस्तै, पार्टीले अख्तियार गरेका र गर्नुपर्ने नीति, संगठन सुदृढीकरण र विस्तारका लागि आवश्यक अध्ययन, अनुसन्धान गर्ने जिम्मेवारीसमेत छ ।