दसैँ–तिहारलगायत चाडपर्व सकिएपछि मुगुमा गाउँ छाड्ने बढेका छन् । दसैँ–तिहारका लागि गाउँ आएकाहरू रोजगारी र अध्ययनका सिलसिलामा सुर्खेत, धनगढी, नेपालगन्ज, पोखरा, काठमाडौंलगायत सहर लागेका छन् । अझ रोजगारीका लागि भारत र तेस्रो मुलुक जानेको संख्या पनि बढेको छ ।
खत्याड गाउँपालिका–८ आमगाउँका धनसुर विक बुधबार मात्र भारत हिँडेका छन् । वर्षको एक–दुईपटक भारत जाने गरेको उनले सुनाए । भारतमा दुई–तीन महिना काम गर्दा खान, बस्न र बालबच्चालाई लत्ताकपडा किनेर केही पैसा बचाएर घर फर्कन सकिने उनी बताउँछन् । ‘यता वर्षभरि काम गर्दा खान–लाउन पुग्दैन, उता भारतमा दुई–तीन महिना काम गर्दा ५०–६० हजार रुपैयाँ बचाएर घर आइन्छ,’ उनले भने ।
आमगाउँकै एक दर्जन युवाले गाउँ छोडेका छन् । खत्याड गाउँपालिका–८, १० र ११ बाट एक सय हाराहारीमा सर्वसाधारण बाहिरिएका छन् । तिहारयता खत्याड–८ रिगागाउँबाट एक सय हाराहारीमा सर्वसाधारण बाहिरिएका रिगा गाउँका स्थानीय नवराज जैसीले बताए । आफ्नो गाउँबाट मात्रै एक सातामा ३०–४० जना रोजगारीको लागि भारत र पढाइका लागि नेपालगन्जलगायत सहर गएका उनी बताउँछन् ।
एक सातायता खत्याड गाउँपालिकाका ११ वटा वडाका विभिन्न गाउँबस्तीबाट करिब चार–पाँच सय सर्वसाधारण कर्णाली पुल तरेर बाहिरिएको देखिएको मुगु र बाजुराको सिमानास्थित खत्याड गाउँपालिका–८ झुगेलामा बस्ने लालबहादुर खत्रीले बताए ।