Skip This
खेतीयोग्य जमिन बाँझो बन्दै, मिचाहा वनस्पतिले ढाकियो कृषि भूमि
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार १o:५६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

खेतीयोग्य जमिन बाँझो बन्दै, मिचाहा वनस्पतिले ढाकियो कृषि भूमि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १o:५६:oo

युवाशक्ति विदेश पलायन हुन थालेपछि सल्यानका ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । खेतीयोग्य जमिन दिन–प्रतिदिन बाँझो बन्दै गएपछि मिचाहा प्रजातिको वनस्पति फैलिँदै गएको हो । 

वन क्षेत्र ढपक्कै ढाकेको वनमाराले खेतबारी पनि ढाकेर कृषिकर्म नै गर्न नसकिने अवस्थामा पु¥याउन थालेको वनगाड कुपिन्डे नगरपालिका– ७, लाम्पाटाका हेम थापाले बताए । वनमारा हटाउने कुनै उपाय नभएकाले यसले झनै असर थपिँदै गएको उनको भनाइ छ । उनले भने, ‘यसको फूल र बोटबाट फैलिन्छ । वनमाराको झाडी काटेर सम्भावना छैन । फेरि जराबाट उम्रन्छ ।’ 

वनमाराले जग्गाजमिन सबै मिच्दै आएको अर्का किसान तुलसी थापाको गुनासो छ । उनले भने, ‘पछिल्लो ६ सात वर्षयता यो झार यति फैलियो कि वनपाखा, खेतबारी, पानीपँधेरो, बाटोघाटोमा पनि यसकै झाडी मात्रै छ ।’

मिचाहा प्रजातिले मिच्दै जाँदा वस्तुभाउलाई चरन क्षेत्रको समेत अभाव हुँदै आइरहेको उनको भनाइ छ । रुखबाहेक जमिन जता पनि वनमाराले ढाकेकाले वस्तुभाउलाई के घाँस हाल्ने भन्ने पिरलो भइरहेको उनले बताए । वनमाराको झाडी धेरै भयो, बँदेल, घोरल, रतुवा, दुम्सी, खरायोलगायतका वन्यजन्तु यसैमा लुक्ने र खेतीपातीमा क्षति गर्ने गरेको उनले बताए । ‘पहिले त केही थाहा थिएन, अहिले त वन्यजन्तुको आतंक छ, रातभर बारीमै बस्नुपर्छ, जनावरबाट खाएर बचेको बाली मात्रै हाम्रो हो,’ उनले भने । 

सल्यानमा कालो वनमारा, सेतो वनमारा, वनफाँडा, सेतो गन्धे झार, नीलो गन्धे झार, पटपटे, काँडेलुँडे, सत्यनाशी, कालो कुरो, चित्लांगे, वेसरम, वन तुलसी झार, लज्जावती झार, चरिअमिलो, पाती झार, भेडेकुरोजस्ता एक दर्जनभन्दा बढी मिचाहा प्रजाति विभिन्न ठाउँमा फैलिरहेका छन् । विश्वव्यापी रूपमा नै जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ ।

अतिक्रमणकारी वनस्पतिका कारण तराई हुँदै पहाडी क्षेत्रहरूमा गम्भीर प्रभाव परिसकेको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजनाका जिल्ला संयोजक डा. दिगम्बरसिंह दाहालले बताए । ‘तराई क्षेत्रबाट प्रवेश गरेको मिचाहा प्रजाति पहाड हुँदै हिमालसम्म नै पुग्न थालेको छ, त्यहाँको परिस्थिति नियन्त्रण गर्ने उपायहरूलाई प्राथमिकीकरण गर्न एउटा विस्तृत तथा बृहत् अध्ययनकै आवश्यक पर्छ,’ उनले भने । 

उनका अनुसार मिचाहा प्रजातिहरू छिटो बढ्ने र धेरै खालका वासस्थानहरूमा बाँच्न सक्ने क्षमताका हुन्छन् । यिनीहरू अत्यधिक धेरै बिउ उत्पादन गर्न सक्ने र जरा एवं काण्डबाट समेत नयाँ बिरुवा उत्पादन गर्न सक्ने हुनाले नयाँ ठाउँमा छिटो अतिक्रमण गर्न सक्छन् । यस्ता प्रजातिहरू ठूलो क्षेत्रमा फैलिएर स्थानीय–रैथाने प्रजातिहरूलाई विस्थापित गरी स्थानीय पारिस्थितिकीय प्रणालीमा नै सोझै असर पार्छन् ।

मिचाहा प्रजातिले रैथाने प्रजातिलाई लोप बनाएको र अस्तित्व नै संकटमा पारिदिएका धेरै उदाहरण छन् । नेपालमा मिचाहा प्रजातिले जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा असर पारेको छ । उदाहरणका लागि वनमाराले जमिनलाई नै छपक्क ढाक्ने हुनाले ससाना बिरुवाहरू उम्रिन र बढ्न सक्दैनन् । 

यस्तै, कृषि क्षेत्रमा नयाँ मिचाहा प्रजातिको आगमनले ठूलो आर्थिक बोझ थपिदिएको छ । मिचाहा प्रजातिले गर्दा वनमा पाइने घाँस र गैरकाष्ठ वन पैदावार घटेको कुरा स्थानीयले अनुभव गरेका छन । मिचाहा प्रजातिले गर्दा वनको पुनरुत्पादन घटेको एवं झाडी फँडानी गर्न ठुलो मिहिनेत गर्नुपरेको वनगाड कुपिन्डे नगरपालिका– १, घाटगाउँका राजकुमार खत्री बताउँछन् ।