प्रचारप्रसारमा हेलिकोप्टर प्रयोगमा गम्भीर बन्न गृहलाई आयोगको आग्रह

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोगका विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन्। 

आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकोप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन्। 

उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए। 

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीका लागि अग्रसर रहेको बताए। 

उनले निर्वाचन आचारसंहितामा ७२ घन्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घन्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए। 

उनले भने, ‘गृहको सन्दर्भमा हेलिकाेप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो। अरू कामका लागि हेलिकाेप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरू होला। तर, हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुईवटा इस्यु आए। हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो।’

सुझावित समाचार