माओवादीका युवा नेता ओमविक्रम भाटद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

आइतबार, २७ कार्तिक, २०७९
डिजिटल संस्करण

कञ्चनपुर निर्वाचन क्षेत्र २ (क) प्रदेश सभा सदस्यका उम्मेदवार ओमविक्रम भाट (सरल)ले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। नेकपा (माओवादी केन्द्र)का युवा नेता भाट सत्तागठबन्धनका तर्फबाट सो क्षेत्रमा उम्मेदवार छन्। उनले ‘आधारभूत समस्याको समाधान गरौँ, उत्पादन बढाएर आत्मनिर्भर बनौँ । योजना भन्न र देखाउनलाई होइन, कार्यान्वयन गर्न र जनजीविकासँग जोडिएका काम गरौँ’ भन्ने मूल नारा लिएर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

भाटले एकीकृत नमुना विकासका लागि प्रतिबद्धता जाहेर गर्दै शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार खानेपानी, भूमि तथा कृषि, पर्यटन, संस्कृति, सहकारी, स्वरोजगार, समाजिक सुरक्षा र स्वास्थ्य पुनर्स्थापनाको एजेन्डालाई प्राथमिकता दिएका छन्। सो क्षेत्रका आरक्षपीडित, भूमिहीन, सकुमबासी, मुक्त हलिया कमैया, दलित, आदिवासी जनजाति, विपन्न एवं नदी कटानको समस्या समाधानका लागि प्रतिबद्धता जनाएका छन्।

‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी हरेक तीन महिनामा अनिवार्य जनताकै बीचमा गई साक्षात्कार कार्यक्रम सञ्चालन गर्ने योजना उनले अघि सारेका छन्। एक बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, सामुदायिक क्याम्पसलाई सरकारी विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने, स्वास्थ्य संस्थाको स्तर वृद्धि गर्दै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा विस्तार गर्ने, रिङरोड विस्तार गर्ने, चुरेदेखि दक्षिण लालझाडी मोहनासम्मका नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गर्नेलगायतका विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

पुलपुलेसा निर्माण, डम्पिङसाइटको वैज्ञानिक व्यवस्थापन, बाल उद्यान विस्तार, चोक–चौतारामा सिसिटिभी क्यामेरा जडान, एक वडा एक खेलमैदान निर्माण, अनाथ असहाय, अपांगका लागि आवासीय विद्यालय स्थापना, कृष्णपुर नगरपालिका १ को विकटबस्ती कुमगडामा विकास पूर्वाधार विस्तार र पाँच वर्षभित्रै क्षेत्रभरिका सबै गाउँबस्तीमा शुद्ध खानेपानी विस्तार गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन्।

भूमिहीनलाई जमिन र अव्यवस्थित बसोवासीलाई राजस्व घटाएर लालपुर्जा वितरण गरिने, आरक्षपीडितको दीर्घकालीन समस्या समाधान गरिने, छापा पशु चौपायाको बहुमखी व्यवस्थापन गरिने, आत्मनिर्भर कृषि कार्यक्रम सञ्चालन, कृषि एम्बुलेन्स विस्तार, बगरखेती विस्तार, महाकाली तेस्रो चरणको नहरलाई कृष्णपुर नगरपालिकासम्म यथाशीघ्र विस्तार गराउने, भूमिगत सिँचाइ विस्तार, चिस्यान केन्द्र निर्माण, स्थानीय उत्पादनलाई बाह्य बजारसम्म पुर्याउनेलगायतका विषयलाई पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि हिरापुरमा गेट निर्माण गर्ने, क्षेत्रमा ऐतिहासिक धार्मिक पर्यापर्यटकीय क्षेत्रको विकास गर्ने, पहाड, थारू समुदायको संस्कृति संरक्षण गरिने, हरेक जनतालाई सहकारीसँग जोड्ने, युवाहरूलाई सीपमूलक तालिम उपलब्ध गराएर आत्मनिर्भर बनाउने, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन सहिद घाइते बेपत्ता विस्थापित परिवारसहितका सन्ततीलाई शिक्षा, स्वास्थ्य र भरणपोषणको योजना ल्याउने, दलित लोपोन्मुख विपन्न परिवारको जनता आवास कार्यक्रम सञ्चालन गर्ने, लागुऔषधको दुर्व्यसनीबाट छुटकारा दिलाउन सुधारगृह निर्माण गर्ने, धर्मशाला विस्तार गर्ने, क्षेत्रमा उच्चस्तरीय अस्पताल निर्माण गर्ने, सुशासन, पारदर्शी रूपमा जनताको चाहनाअनुरूप विकास गर्ने एजेन्डालाई उनले अघि सारेका छन्।

‘मैले जितेपछि यस क्षेत्रको समृद्धिका लागि सक्नेजति अहिले जनतासामु प्रतिबद्धता लगेर चुनावमा होमिएको छु,’ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै उनले भने। १३ वर्षको उमेरदेखि राजनीतिमा होमिएका उनले सिंगाे जीवन नै जनताका लागि समर्पण गर्ने प्रतिबद्धतासहित चुनावमा होमिएको बताएका छन्।

सुझावित समाचार