हिमाली जिल्लामा हिमपात सुरु भएको छ । बाटाघाटा बिग्रिएका छन्, कसरी पुर्याइँदै छन्, निर्वाचन सामग्री र जनशक्ति ?
मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, हुम्ला, बाजुरा र मुगुमा हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिसकिएको छ । १० दिनअगावै निर्वाचन सामग्री पठाउनुपर्ने व्यवस्था छ । तर, १७ दिनअगावै सबै जिल्लामा सामग्री पठाइसकेका छौँ । सबै विकट जिल्लामा निर्वाचन सामग्री पठाइसकिएको छ । सडकमार्गबाट सम्भव नभएका जिल्लामा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री पठाइसकिएको छ । सदरमुकामबाट भने पैदल या सडकमार्गबाट मतदान केन्द्रसम्म पुर्याउने काम भइरहेको छ । कर्मचारी र सुरक्षाकर्मी जिल्लामै छन् ।
हिमाली जिल्लामा आएका समस्या समाधानका लागि आयोगले के गरिरहेको छ ?
सबै विकट जिल्लामा निर्वाचन सामग्री पठाइसकिएको छ । दार्चुलाको व्यास गाउँपालिकाका बासिन्दाबाट सदरमुकाम खलंगामै मतदान केन्द्र राख्न माग भएको थियो । उहाँहरूको मागअनुसार सबै उम्मेदवार र राजनीतिक दलबीच समझदारी बनाएर मतदाताले मतदान गर्न पाउने सुनिश्चितता हुनेगरी निर्णय गर्न निर्देशन गरिएको छ । आयोगले आवश्यकता हेरेर हेलिकोप्टर उपलब्ध गराउन आवश्यक निर्देशन पनि दिइरहेको छ ।
प्रतिकूल मौसमकै कारण कतिपय स्थानमा निर्वाचन प्रभावित हुने अवस्था त आउँदैन नि ?
आयोगले मानवीय कारणबाट प्रभावित हुन नदिन आवश्यक समन्वय र निर्देशन दिइरहेको छ । मौसमी प्रतिकूलताका कारण सदरमुकामबाट मतदान केन्द्रसम्म मतदान अधिकृत र निर्वाचन सामग्री पुग्न नसक्ने अवस्था आएमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले आयोगसँग समन्वय गर्छ ।