काठमाडौं ३ मा माओवादीका बजगाईंको उम्मेदवारी निष्क्रिय, कांग्रेसलाई सघाउने

बिहिबार, १७ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौं ३ मा प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवारको उम्मेदवारी निष्क्रिय भएको छ। 

कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अब गठबन्धनको साझा उम्मेदवार भएका छन्। पार्टीको निर्देशनअनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको प्रतिक्रिया माओवादी उम्मेदवार बद्रीप्रसाद बजगाईंले दिए। 

‘हिजो पार्टीले उठाएकाले म उम्मेदवार बनेको थिएँ,’ उनले भने, ‘पार्टीले निष्क्रिय रहन निर्देशन दिएपछि त्यसलाई पालना गर्नैपर्छ।’ अब गठबन्धनलाई आफ्नो समर्थन रहने उनले बताए। 

यस क्षेत्रमा कांग्रेसले चालिसेलाई उठाएको छ। निर्वाचन क्षेत्रको ठूलो हिस्सा पर्ने गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर हुन्, चालिसे। अब यहाँ मुख्य प्रतिस्पर्धा गठबन्धनका चालिसे र एमालेका उम्मेदवार कृष्णबहादुर राईबीच हुनेछ। राई निवर्तमान सांसद हुन्। 

गत स्थानीय तहको निर्वाचनको परिणामअनुसार यहाँ धेरै मत कांग्रेसले हासिल गरेको छ भने अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका राई निर्वाचित भएका थिए। 

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ३ र १० मा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएकामा ३ मा माओवादी उम्मेदवार निष्क्रिय भएसँगै अब १० मा मात्रै गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ। 

त्यस्तै, प्रदेश सभातर्फ पनि काठमाडौं ३ (क) मा माओवादी उम्मेदवार कपिलमुनि उप्रेतीको उम्मेदवारी निष्क्रिय भएको छ। माओवादी केन्द्रले एकैसाथ बजगाईं र उप्रेतीको उम्मेदवार निष्क्रिय गर्ने निर्णय गरेको थियो। गठबन्धनभित्रको विवादका कारण त्यहाँ माओवादीले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भन्दै पार्टीबाट उम्मेदवार उठाएको थियो।

प्रदेश सभा ३ (ख) को हकमा भने माओवादीले आफ्ना उम्मेदवार महेश्वर फुँयालको उम्मेदवारी कायम राखेको छ। त्यहाँ भने प्रमुख तीन दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ।

सुझावित समाचार