उम्मेदवारी खारेजीपछि डा. तोसिमाले भनिन्- आयोगकाे निर्णयविरुद्ध अदालत जान्छु

शनिबार, १२ कार्तिक, २०७९
डिजिटल संस्करण

उम्मेदवारी खारेजीमा परेकी डा‍‍. तोसिमा कार्कीले निर्वाचन आयोगकाे निर्णयविरुद्ध अदालत जाने बताएकी छिन्।  

आयोगले ललितपुर क्षेत्र नम्बर–३ का उम्मेदवार डा‍‍. कार्कीको उम्मेदवारीलाई अयोग्य ठहर गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ। 

उनले ललितपुर ३ मा आफ्नो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको वेला निर्वाचन परिणाम नै फरक पार्ने गरी आयोगले गरेकाे निर्णयविरुद्ध अदालत जाने बताएकी हुन्। 

डा. कार्कीले आयाेगलाई पत्र लेख्दै भनेकी छिन्, ‘ललितपुर ३ मा मेरो पक्षमा एकदमै राम्रो माहौल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु।’

 डा. कार्कीले निश्चित तलब नहुने र बैठक हुँदा भत्ता मात्रै पाउने निर्वाचित सदस्य लाभको पद नहुने पनि स्पष्ट पारेकी छिन्। आफूलाई आधिकारिक पत्र नआएको र उम्मेदवारी खारेजीबारे मिडियामार्फत जानकारी पाएको पत्रमा उल्लेख गरेकी छिन्। यसबारे थप स्पष्ट हुन डा. कार्कीले न्यायक्षेत्रमा क्रियाशील रहेका अधिवक्तासँग परामर्शमा रहेको बताइन्। 

‘समय सकिएपछिको उजुरीलाई आधार मानेर आफैँले समयमा प्रस्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु,’ उनले  पत्रमा भनेकी छिन्, ‘जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उम्मेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नुपर्थ्यो। यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ। स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ।’  

सुझावित समाचार