आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष प्रणालीतर्फ २० जिल्लाको मतपत्र छपाइ सकिएको छ। बुधबारसम्म प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेश सभातर्फ डोटी, डडेलधुरा र कैलालीको गरी करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको हो।
मतपत्र छपाइ अधिकृत बाबुराम कोइरालाका अनुसार हालसम्म एक करोड २८ लाख ४९ हजार पाँच सय मतपत्र छपाइ भइसकेको छ। जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार पाँच सय र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार रहेको छ।
हाल कायम रहेको एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताका लागि प्रत्यक्ष र समानुपातिक निर्वाचन दुवैतर्फ करिब चार–चार करोड मतपत्र आवश्यक पर्ने निर्वाचन आयोगले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा ढुवानी सुरु
आयोगका अनुसार बिहीबारदेखि सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सुरु भएको छ।
कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको सुरु भएको हो। बागमती, मधेस र प्रदेश १ का जिल्लाहरूमा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ।