मलेसियाका पूर्वप्रधानमन्त्री महथिर मोहम्मद संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । ९७ वर्षीय महथिर तेस्रोपटक प्रधानमन्त्रीका आकांक्षी हुन् वा होइनन् भन्ने विषयमा भने कही खुलाएका छैनन् । यसै वर्षको सुरुमा मुटुको समस्याका कारण अस्पतालमा भर्ना भएका महाथिरले आगामी आमनिर्वाचनमा प्रतिस्पर्धा गर्ने बताए । उनले लोकप्रिय पर्यटकीय गन्तव्य लाङकवीबाट उम्मेदवारी दिने बताएका छन् ।
उनले आफूले प्रतिनिधित्व गर्ने गठबन्धन गेराकान तानाह एयर (जिटिए)ले नोभेम्बरमा हुने चुनावमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने निर्णय नगरेको बताए । ‘आगामी निर्वाचनपछि को प्रधानमन्त्री हुन्छ भन्नेबारे हामीले कुनै निर्णय गरेका छैनौँ,’ महाथिरले भने, ‘हामीले जित्यौँ भने मात्र प्रधानमन्त्रीको उम्मेदवार सान्दर्भिक हुने भएकाले अहिल्यै नै निर्णय गरेका छैनौँ,’ उनले भने ।
कोभिड–१९ बाट बिरामी परेपछि गत महिना अस्पतालबाट डिस्चार्ज भएका महाथिर यसअघि दुईपटक मलेसियाको प्रधानमन्त्री भइसकेका छन् । उनको पहिलो कार्यकाल सन् १९८१ देखि सन् २००३ सम्म रहेको थियो । आफ्नो शासनकालमा उनले धेरै सुधारका कार्य गरेका थिए । राजनीतिबाट विश्राम लिएका महाथिर पुनः सक्रिय राजनीतिमा फर्किएका थिए । सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री नजिब रजकको कार्यकालमा १ मलेसिया डेभलपमेन्ट बर्हाड (एमडिबी) काण्डपछि महाथिर राजनीतिमा फर्किन प्रेरित भए र सन् २०१८ को चुनावमा विपक्षीहरूलाई ऐतिहासिक जित दिलाए ।
सन् २०१८ मा तत्कालीन गठबन्धनको नेतृत्व गर्दै ९२ वर्षको उमेरमा उनी सत्तामा फर्किएका थिए । उनको विजयले महाथिरका पूर्वसमर्थक नजिब रजाकलाई सत्ताच्यूत गरिदिनुुका साथै युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टीको ६ दशक लामो शासन अन्त्य गरिदिएको थियो । तर, दलदलका कारण उनको सुधारवादी गठबन्धन दुई वर्ष शासन नगर्दै विघटन भयो भने नयाँ गठबन्धन सरकारअन्तर्गत युएमएओ पुनः सत्तामा फर्कियो । सन् २००० मा आफ्नो सरकार ढलेपछि महाथिरले पेजुआङ पार्टी र धेरै साना दलहरूसँग नयाँ गठबन्धन बनाए ।
सम्पत्ति शुुद्धीकरण, शक्तिको दुरुपयोग र घोटालासँग सम्बन्धित अन्य आरोपमा रजकलाई सन् २०२० मा १२ वर्षको जेल सजाय तोकिएको छ । तथापि, उनी राजनीतिक शक्ति बनेका छन् र शाही माफी पाउन सक्ने अनुमान गरिएको छ । युएमएनओ विजयी भएमा नजिब रिहा हुन सक्ने महाथिरले चेतावनी दिएका छन् ।
मलेसियाका वर्तमान प्रधानमन्त्री इस्माइली साब्री याकोब सत्तारुढ युुएमएनओ पार्टीमा आबद्ध छन् । उनले सोमबार संसद् विघटन गर्दै निर्वाचनका लागि ढोका खोलिदिएका थिए, तथापि निर्वाचनको मिति घोषणा हुन भने बाँकी छ ।