ओखलढुंगामा ५ जनाको उम्मेदवारी फिर्ता

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

ओखलढुंगामा मनोनयन दर्ता गरेका ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ गरी ३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। 

सत्तारुढ गठबन्धनको केन्द्रीय निर्देशनपछि नेकपा एकीकृत समाजवादीका सबै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। जिल्लामा गठबन्धनविरुद्ध नेकपा एसले आफ्नै उम्मेदवार उठाएको थियो। उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने चेतावनीसहितको पत्र आएपछि प्रतिनिधिसभाका उम्मेदवार योगिन्द्र बस्नेत, प्रदेश सभा १ का देवराज दाहाल र  प्रदेश सभा २ का कमलबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएका हुन्।

त्यस्तै, प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर खड्का र प्रदेश सभा १ बाट उम्मेदवारी दिएका राप्रपाका सानुबाबु दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरू दुवैजनाले एमालेका उम्मेदवारलाई समर्थन गरेका छन्। 

उम्मेदवारी फिर्ता लिने समयसम्म ५ जनाले निवेदन दिएर उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए। उनका अनुसार २५ जनाले मनोनयन गरेकोमा अब ५ जनाले फिर्ता लिएपछि २० जनाको उम्मेदवारी कायम भएको छ। 

सुझावित समाचार