मोहनविक्रमको आरोप- एमालेले प्रतिगमनको नेतृत्व गरिरहेको छ

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले एमालेले प्रतिगमनको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । आइतबार प्युठानको बाग्दुलामा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेले प्रतिगमनको नेतृत्व र अन्य कम्युनिस्टहरूले अवसरवादी बनेर कम्युनिस्ट पार्टीको बदनामी गरेको बताए ।

वर्तमान राष्ट्रिय राजनीतिमा केपी ओलीको प्रतिगमनबाट मुलुकलाई जोगाउन पाँचदलीय गठबन्धन भएको र अहिले पनि त्यसविरुद्ध बलियो मोर्चा आवश्यक भएको उनले जिकिर गरे । ‘एमालेको साँठगाँठ राजावादीहरूसँग छ,’ सिंहले भने, ‘गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षार्थ पाँचदलीय मोर्चा आवश्यक छ ।’ 

सिंहले गठबन्धनमा अपमानित भए आफ्नो पार्टीको मोर्चाको रूपमा रहेको जनमोर्चा आगामी संघ र प्रदेशको चुनावमा एक्लै लड्ने बताए । ‘एक्लै चुनावमा जान्छौँ, तर एमालेसँग साँठगाँठ गर्दैनौँ,’ उनले भने । सिंहले नयाँ पार्टी निर्माण गरेकाहरूलाई अवसरवादी, भ्रष्ट र अधिनायकवादी सोच भएका व्यक्तिहरू सही नीति र विचारमा अट्न नसक्ने टिप्पणी गरे । पाँचदलीय गठबन्धन हुँदा राजमोको संघका लागि प्युठान र बाग्लुङमा दाबी हुने सिंहले बताए । 
 

सुझावित समाचार