मानिसको शरीरको भित्री सुन्दरताबारे भएको बेवास्ता र बाहिरी सुन्दरताको अपव्याख्याबारे छलफल गर्न त्रिवि अंग्रेजी विभागको आयोजनामा शुक्रबारदेखि चोभारस्थित केन्द्रीय बागवानी केन्द्रमा दुईदिने सम्मेलन सुरु भएको छ। कला–साहित्यमा शारीरिक दुन्दरताको प्रयोग र अपव्याख्याबारे छलफल तथा विभिन्न कार्यपत्र प्रस्तुत गर्न दुईदिने सम्मेलन सुरु भएको हो।
सम्मेलनमा विभिन्न देशका प्राध्यापकको सहभागितासमेत रहेको छ। विभिन्न देशमा बसेर कला–साहित्य र प्राध्यापनसँगै अध्ययन र अनुसन्धान गर्दै आइरहेका उनीहरूले मानिसको शरीर र कला–साहित्यसम्बन्धी २८ वटा कार्यपत्र तयार पारेका छन्। कला र साहित्यमा शरीरको व्याख्या तथा अपव्याख्याबारे तयार पारिएका १४ वटा कार्यपत्र शुक्रबार प्रस्तुत गरिएको छ । विभिन्न देशका प्राध्यापकले सो कार्यपत्र प्रस्तुत गरेका थिए। अन्य १४ वटा कार्यपत्र शनिबार प्रस्तुत गरिनेछ।
भारत, चीन, बंगलादेश, अस्ट्रेलिया, अमेरिकालगायत देशका प्राध्यापकको सहभागिता रहेको दुईदिने सम्मेलनले शारीरिक रूपमा सुन्दर देखिने मानिस मात्रै कला, साहित्य र सौन्दर्यका रूपमा पात्र हुन् भन्ने विषयको भ्रम चिर्नेछ। अर्थात् मानिसको शरीर हेर्दा देखिने सुन्दरता मात्रै सुन्दरता नभएर उसको सीप, क्षमता, व्यवहार, भावना, कल्पना सुन्दरताकै प्रतीक हो भन्ने विषयलाई सामान्यीकरण गर्न उक्त सम्मेलन राखिएको त्रिवि अंग्रेजी विभाग प्रमुख जीवलाल सापकोटाले जानकारी दिए। उनले शरीरले सुन्दर मानिसको मात्रै तारिफ गरिने, उसलाई सुन्दरताको प्रतीक मानिने, राम्रो मानिनेजस्ता विषयमा गहन छलफल र कार्यपत्र प्रस्तुत गर्नका लागि सम्मेलन आयोजना गरिएको बताए।
‘शरीर हेरेर मात्रै मानिसको वर्णन, व्याख्या र तारिफ गर्नुहुँदैन,’ उनले भने, ‘मानिस सीप, क्षमता, व्यवहार, भावना, कल्पना र सोचले पनि सुन्दर हुन्छ, त्यही पाटोलाई हामीले अन्तर्क्रियाको मूल विषय ठानेका छौँ।’
उनका अनुसार शुक्रबारदेखि सुरु भएको सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले मानिसको मानसिक र मस्तिष्कको सुन्दरतालाई पनि कला–साहित्यमा वर्णन गरिनुपर्ने तर्क राखेका थिए। मानिस शारीरिक रूपमा मात्रै नभएर उनको तन, मन र वचन पनि सुन्दर हुनुपर्ने उनको धारणा थियो।
प्रा.डा. भुसालले यस्तो प्रकारको सेमिनार सम्भवतः पहिलोपटक आयोजना भएको बताउँदै यस्ता कार्यक्रमले मानिसको बौद्धिकता वृद्धि गर्न टेवा पुर्याउने बताए। पहिलो सत्रको कार्यक्रममा शुक्रबार त्रिविका अंग्रेजी विभागका पूर्वविभागीय प्रमुख प्रा.डा. मोहनप्रसाद लोहनी, अमेरिकास्थित अक्लोहामा युनिभर्सिटीका प्रोफेसर डा. वेएने स्टेइनलगायत त्रिविका विभिन्न विभागका प्राध्यापकले आ–आफ्नो अध्यनन कार्यपत्र प्रस्तुत गरेका थिए। ती कार्यपत्रहरूमा मानिसको शारीरिक सुन्दरताको मापन, रूप हेरेर गरिएको मूल्यांकनको असर, मानिसको भित्री क्षमता, विभिन्न जात, वर्ग, लिंग, समुदायलगायतका विषय पनि विश्व साहित्यमा समेटिनुपर्छ भन्ने निचोड समेटिएको थियो।
करिब तीन सयजनाको सहभागिता रहेको सम्मेलनको पहिलो दिन अंग्रेजी विभागले तयार पारेको अर्धवार्षिक प्राज्ञिक जर्नलको पनि विमोचन गरिएको थियो। शनिबार हुने सम्मेलनमा पनि १४ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । त्यस्तै प्रतिबद्धतापत्रमा छलफल र हस्ताक्षर हुनेछ।