पछिल्ला केही दिनदेखि रामेछापमा डेंगु प्रकोप बढ्दै गएको छ। करिब एक हप्ताको बीचमा डेंगुका १६ बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दिएको जानकारीअनुसार जिल्ला अस्पतालमा ११ जना र मन्थली अस्पतालमा पाँचजना डेंगुका बिरामी उपचाररत छन्।
केही दिनदेखि जिल्लामा डेंगुका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए। अस्पतालमा ज्वरो आएर उपचारका लागि आएका बिरामीको परीक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो। मन्थली अस्पतालमा ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, खान मन नलाग्नेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका पाँचजनाको परीक्षण गर्दा उनीहरूमा डेंगु सक्रमण पुष्टि भएको मन्थली अस्पतालका डा. केशव धामीले जानकारी दिए। उनले भने, ‘डेंगु पुष्टि भएका बिरामीलाई अस्पतालमा नै भर्ना गरेर उपचार भइरहेको छ। बिरामीहरूलाई झुलभित्र राखेर उपचार गरिरहेका छौँ।’
लामखुट्टेले संक्रमण फैलाउन सक्ने भएकाले यसलाई न्यूनीकरण गर्न कीटनाशक औषधिहरू छर्न स्थानीय तह र जिल्ला अस्पतालले ढिलो गरे संक्रमण बढ्दै जाने चिन्ता बढ्दै गएको छ। नागरिक अगुवा हिमाल ढुंगेल भन्छन्, ‘तत्काल सम्बन्धित निकायले यसलाई चाँडोभन्दा चाँडो छलफल गरेर कीटनाशक विषादी छर्कन ढिलो गर्नुहुँदैन।’ पछि संक्रमण बढ्दै गएर चिन्ता गर्नुभन्दा वेलैमा संक्रमण रोक्नु बुद्धिमानी हुने ढुंगेलले बताए।