ठिक छैन हाम्रो खाद्य उत्पादन प्रणाली

बुधबार, २२ भदौ, २०७९
डिजिटल संस्करण

हामीले अति प्रशोधित खानालाई जारी राख्यौँ भने खानेकुराले मानिसलाई बिरामी बनाउने क्रम पनि जारी रहनेछ

गार्जियनका स्तम्भकार जर्ज मोनबियोटको लेखले कार्बन उत्सर्जन घटाउन र तत्कालै हरित ऊर्जामा गइहाल्नुपर्ने आवश्यकतालाई उजागर गरेको छ । उनले नाटकीयस्तरमा प्रजातिको गिरावट र जैविक विविधताको ह्रासमा कृषिको भूमिकालाई पनि देखाएका छन् । उनले लेखेका धेरैजसो विषयप्रति म अन्तरात्मादेखि नै सहमत छु । जहाँसम्म हाम्रो खेती तथा खाद्य प्रणाली परिवर्तन गर्न आवश्यक छ भन्ने सवाल छ, हाम्रा समाधान एकदमै फरक छन् । 

सन् १९५० को दशकको कृषि क्रान्तिमा एमोनिया मल एवं झारपातनाशक (वनस्पतिनाशक), कीटनाशक अनि ढुसीनाशक विषादीको अत्यधिक र व्यापक प्रयोग गरेर मानिसले प्रकृतिसँग युद्ध नै छेडेकोमा विवाद छैन । खानेकुरा उत्पादन गर्ने यी चरमपन्थी, मोनोकल्चर तरिकाले हाम्रो भूमि र पानीका स्रोतहरू प्रदूषित मात्र गरेको छैन, पृथ्वीको तापक्रम बढाउन र मानव स्वास्थ्यको संकट नै निम्त्याएको छ । (प्रतिष्ठित जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार विश्वव्यापी रूपमा धूमपानबाट भन्दा धेरै मानिसको मृत्यु आहारसँग सम्बन्धित रोगबाट हुने गरेको छ ।) 

फार्मका जनावरहरू एकदमै खराब तरिकाले पालिन्छन् । किराफट्याङ्ग्राको संख्यामा देखिएको गिरावट चिन्ताजनक छ ः गड्यौला, गोब्रेकिरा र माहुरीविना हामीले बुझेको जीवन नै समाप्त हुन सक्छ । माटो, जसलाई हामी विश्वको ९५ प्रतिशत खानेकुरा उत्पादनमा प्रयोग गर्ने गर्छाैं, त्यसको क्षय आश्चर्यजनक दरमा भइरहेको छ । हामीले हाम्रो खानपान र खाद्यवस्तु उत्पादनको शैलीमा परिवर्तन नगरिभएको छैन र हामीले यो जतिसक्दो चाँडो गर्न आवश्यक छ । 

यहाँसम्म म मोनबियोटसँग सहमत छु । तर, हालैको एक लेखमा उनले जैैविक, चरिचरनमा छोडिएका गाईवस्तु र भेडाको मासु ‘विश्वका सबभन्दा हानिकारक कृषि उत्पादन’ भनेर लेखेका छन् । उनी चरनको पुनरुत्थान (जसलाई उनी ‘पुनः ब्रान्ड गरिएको चरन’ भन्छन्)मा केन्द्रित मजस्ता खानाका सौखिन र सेफहरूको आलोचना गर्छन् । उनको वैकल्पिक दृष्टिकोणमा फर्मेन्टेसन (जीवाणु र पानीबाट प्रयोगशालामा खाद्यवस्तुहरूको उत्पादन गर्ने तरिका)मार्फत खाद्य उत्पादनमा क्रान्ति ल्याउनेलगायत पर्छन् । ‘लामो समयसम्म हाम्रो धेरैजसो खाना न त जनावर, न बोट–बिरुवाबाट नै आउनेवाला छ, बरु एककोषीय जीबबाट आउनेछ,’ उनले २०२० मा यसै पत्रिकामा लेखका थिए । 

सन् १९५० को दशकको कृषिक्रान्तिमा एमोनिया मल एवं वनस्पतिनाशक, कीटनाशक अनि ढुसीनाशक विषादीको अत्यधिक र व्यापक प्रयोग गरेर मानिसले प्रकृतिसँग युद्ध नै छेडेको निर्विवाद छ । खानेकुरा उब्जाउने यी चरमपन्थी, मोनोकल्चर तरिकाले हाम्रो भूमि र पानीका स्रोत मात्र प्रदूषित गरेको छैन, पृथ्वीको तापक्रम बढाएको छ अनि मानव स्वास्थ्यको संकटसमेत निम्त्याएको छ ।

प्रयोगशालामा खाद्य उत्पादन गरिने अवधारणाको विरोधमै नभए पनि म साना स्तरका र समुदायमा सञ्चालित खेतीको पक्षमा छु । किनकि म खानामा असलका लागि, मानवका लागि र वातावरणको स्वास्थ्यका लागि शक्ति बन्ने सामथ्र्य रहेकामा विश्वास गर्छु । गेब ब्राउनजस्ता लेखकले प्रस्ताव गरेको विधिले किसानले सामान्य पशुलाई सघन फार्ममा भन्दा पनि खुला ठाउँमा राम्रोसँग व्यवस्थापन गर्दा त्यसले माटोको सतह बढाउन, कार्बन सञ्चित गर्न र वर्षाको बहुमूल्य पानीलाई जमिनमा पुनर्भरणमा पठाउनमा बढी नै उपयोगी हुने देखाएको छ । यो तरिकाले पर्याप्त खाना उत्पादन गर्न सम्भव छैन भन्ने मोनबियोटको तर्क प्रायः मौजुदा खाद्य प्रणालीको आलोचना गर्न प्रयोग गरिन्छ । जबकि संयुक्त राष्ट्र संघअन्तर्गतको खाद्य तथा कृषि संगठनका अनुसार अझै हामीले प्रयोग गर्ने खाद्यान्नमध्ये एकतिहाइ हिस्सा साना किसानले उत्पादन गर्छन् । 

सूक्ष्म फर्मेन्टेसनप्रतिको मोनबियोटको उत्साहले मलाई धेरै चिन्तित बनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था फोब्र्समा पोडकास्टर एरोल स्वाइजर लेख्छन्, ‘यो नयाँ खाद्य प्रविधिमा प्रविधिका अग्रणी, उद्यम लगानीकर्ता र अन्य सेलिब्रेटीले पनि ठूलो वित्तीय लगानी गरेका छन् ।’ सूक्ष्म फर्मेन्टेसनले हामीलाई सस्तो मासु उपभोग गर्ने विनाशकारी लतबाट छुटकारा दिने दाबी गरिन्छ, तर यसका सम्भावित बेफाइदाबारे चर्चा नै हुन्न । यी आविष्कारहरूको पेटेन्ट हत्याउने कार्य एकदमै तदारुकताका साथ चलिरहेको छ, यसले हाम्रो खाद्य आपूर्तिको भविष्यलाई सानो संख्याका बहुराष्ट्रिय खाद्य खेलाडीको हातमा धकेल्दै छ ।

यस्ता खाद्यवस्तुको उत्पादनका लागि कारखाना प्रणाली निर्माण गर्न चाहिने ऊर्जा र कच्चा सामग्रीको परिणामबारे पारदर्शिता छैन । यी प्रणाली कति जीवाश्म–इन्धनमा निर्भर छन् ? यी खाद्यवस्तु बनाउन अन्य कति रसायन र यौगिक चाहिन्छन् ? हामीले तिनलाई कहाँबाट र कसरी प्राप्त गर्नेछौँ ? केही कुरा पनि पारदर्शी छैन । खाद्य उत्पादनको कुशल प्रणाली खोज्ने दौडमा जादुमय समाधान खोज्ने रहर हामीमा देखिएको छ, तर हामी यसका जोखिमलाई पनि बेवास्ता गर्न सक्दैनौँ । 

बेलायतीहरूले आफ्नो आधा क्यालोरी अति प्रशोधित खानाबाट प्राप्त गर्छन् । उनीहरूको स्वास्थ्यमा यी खानेकुराको प्रभाव कति परेको छ भनेर सरकार वा स्वास्थ्य अध्ययन प्रतिष्ठानहरूले पनि खासै ध्यान दिएका छैनन् । हामीलाई थाहा भएकै कुरा हो, अन्य वनस्पतिमा आधारित वैकल्पिक मासुसमेतका अति प्रशोधित खानेकुरा उच्च प्रोटिनयुक्त त हुन्छन्, तर यिनमा नुन र फ्याट पनि धेरै हुन सक्छ ।

बेलायतमा रहेका होडमेडोडजस्ता पुनरुत्थान खेती (माटोको सतह पुनरुत्थान, जैविक विविधतामा वृद्धि र जलचक्र सुधार गर्दै खेती गर्ने प्रणाली) प्रणालीको अभ्यास गर्ने कम्पनीहरूले साना–साना फार्महरूको सहकारीमार्फत प्रोटिन र फाइबरले भरिपूर्ण दाल र अन्न उत्पादन गरिरहेका छन् । ती सबै फार्मले आफ्नो खेती प्रणालीमा केही खुला चरनमा छोडिने पशुपालनलाई पनि प्रयोग गर्छन्, ताकि माटोमा पोषकतत्वको चक्रलाई सहयोग पुगोस् । मोनबियोटले आफ्नो लेखमा दाबी गरेझैँ यस्ता फार्ममा गाईवस्तु वा भेडाका ससाना बथान कभर क्रप्समा चर्छन् र जमिनमा जैविक विविधतालाई बढावा दिन्छन् । कभर क्रप्स भूक्षय कम गर्न, माटोको अवस्था सुधार्न, झारपातलाई निखार्न, किरा तथा रोग नियन्त्रण गर्न र जैविक विविधता बढाउन उपयोगी मानिन्छ । यो बालीले कीटनाशक औषधि प्रयोग गर्नुपर्ने आवश्यकता हटाउँछ । गाईवस्तुको उपस्थितिले तिनीहरूको गोबर र र्यालमार्फत माटोलाई पोषकतत्व प्रदान गर्छ । उनीहरूले हाम्रो आहारमा पोषणतत्व थपिदिन्छन् : मानव आहारमा घाँस खाएका जनावरहरूको बोसोको विकल्प खोज्न गाह्रो हुन्छ । साथै, पशुधनले कृषकलाई अतिरिक्त आम्दानी पनि प्रदान गर्छ र उनीहरूलाई थप बजबुती प्रदान गर्छ ।

विद्यालयमा हामीले च्यारिटीका लागि खाना खुवाउने कार्यहरू गर्दा मानिसलाई रेसा (फाइबर)युक्त र स्वादिला खानेकुरा खुवाउन कति सम्भव छ भन्ने मैले प्रत्यक्ष अनुभव गरेको छु । यसको लागत अतिप्रशोधित खानेकुरा खुवाउँदाभन्दा न्यून लागेको थियो । उचित राजनीतिक इच्छाशक्ति भए हामीले सबै आयसमूहका मानिसलाई विद्यालयमा मात्रै होइन, अस्पताल, जेल अनि सार्वजनिक चमेनागृहहरूमा पनि राम्रो आहार खुवाउन सक्छौँ । (अहिले पनि ६० प्रतिशत माध्यमिक विद्यालय विद्यालय खानाको मापदण्ड पूरा गर्न असफल भइरहेका छन् ।) यदि हामीले अति प्रशोधित खानालाई जारी राख्यौँ भने खानेकुराले मानिसलाई बिरामी बनाउने क्रम पनि जारी रहनेछ, हेनरी डिम्बल्बेको नेसनल फुड प्लानअनुसार बेलायतको अर्थतन्त्रले बर्सेनि यसको लागत ७४ अर्ब डलर पाउन्ड चुकाउनुपर्नेछ । 

मलाई डोनट्स र क्रिस्प मन पर्छ, तर हामी यही मात्र खाएर बाँच्न सक्दैनौँ । प्राणी र माटोका लागि विनाशकारी सावित मोनो क्रप्स (एकल बाली)बाट टाढा रहने हो भने म वनस्पतिमा आधारित खाद्यवस्तुहरूको पक्षमा खुला छु । प्रविधिले प्रकृतिसँग मिलेर काम गर्दासम्म मात्र म सबैखाले प्रविधिको पक्षमा छु । माटो विज्ञानका लागि र गरिब मानिसलाई उचित खाना खुवाउनका लागि हामीलाई पर्याप्त कोष चाहिन्छ ।

हामीले हाम्रो आहारको आनीबानीलाई परिवर्तन गर्न आवश्यक छ । मासु कम खानुपर्छ । विगत ७० वर्षको अनुभवले के देखाउँछ भने प्रकृतिको जटिल जीवविज्ञानलाई जब रसायनशास्त्रको संकुचित दृष्टिले हेरेर प्रतिस्थापन गर्न लागिन्छ र अरू कुरालाई उपेक्षा गरिन्छ, तब त्यसले नकारात्मक र अक्सर अनपेक्षित दुष्परिणाम निम्त्याउने गरेको छ । प्रकृतिमा जनावर (प्राणी) र सागसब्जी (वनस्पति जगत्) कहिल्यै अलग छैनन्, हामीले त्यसबाट केही न केही त सिक्नैपर्छ । 

(मियर्स कुक, लेखक र आतिथ्य उद्यमी हुन्)

–गार्जियनबाट

See More On

सुझावित समाचार