ताप्लेजुङ कांग्रेसले सिफारिस गर्‍याे उम्मेदवारको नाम

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस ताप्लेजुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। ताप्लेजुङ कांग्रेसले पत्रकार सम्मेलन गर्दै उम्मेदवार सिफारिस गरेको जानकारी गराएको हो।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशका लागि दुई निर्वाचन क्षेत्र रहेका छन्। नेपाली कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला सभापतिसमेत रहेका गजेन्द्र तुम्याहाङसहित पाँचजनाको नाम सिफारिस गरेको छ। अहिले प्रदेश सभा सदस्यसमेत रहेका प्रतापप्रकाश हाङगाम, महाधिवेशन प्रतिनिधि बलबहादुर तामाङ, महाधिवेशन प्रतिनिधि मणि लामा, महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको नाम सिफारिस गरिएको जिल्ला सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिए।

प्रतिनिधिसभा समानुपातिकतर्फ युवराज गुरुङ, लीलादेवी बोखिम र शिला इजमको नाम सिफारिस गरिएको छ। यता, प्रदेश सभा ‘क’तर्फ प्रत्यक्षमा गोपाल गुरुङ, डिल्लीरमण बराल र लक्ष्मीप्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ।

प्रदेश सदस्य समानुपातिक महिलातर्फ शिला इजम, गीताकुमारी चौहान, मातृकादेवी प्रसाई र मीना गुरुङ रहेका छन्। प्रदेश समानुपातिक खुल्लातर्फ केशवप्रसाद दाहाल, पदमसुन्दर पालुङ्वा, मंगलबहादुर मेन्याङ्बो, सन्तोषकुमार सार्की र रामबहादुर लिम्बू रहेका छन्।

उता, प्रदेश ‘ख’तर्फ प्रत्यक्षमा सो क्षेत्रका नेपाली कांग्रेसका सभापतिसमेत रहेका खगेनसिंह हाङगामलाई एकल सिफारिस गरिएको छ।  प्रदेश ‘ख’को समानुपातिक महिलातर्फ बबिता सुब्बा, गीताकुमारी सेन्दाङ, कल्पनादेवी सिटौला, नरमाया केदेम र चन्द्रमाया लिम्बूलाई सिफारिस गरिएको छ। समानुपातिक खुलातर्फ भने गणेशबहादुर लिम्बू, इन्द्रकुमार केदेम, टेकबहादुर साँवा र तिलप्रसाद सुब्बालाई सिफारिस गरिएको सभापति तुम्याहाङले बताए।

सुझावित समाचार