०८० भित्र ४९ अर्बका १७ पाँचतारे होटेल थपिँदै

अधिकांशको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन होटेलले सम्हाल्ने, कोरोनाले थला पारेको पर्यटन उकास्ने अपेक्षा

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

थपिएकासमेत गरेर ३५ पाँचतारे होटेलमा ५२ सय ३३ कोठा पुग्ने 

गैरआवासीय नेपाली रामेश्वर शाहले डेढ वर्षअघि सौराहामा साधारण बुटिक रिसोर्ट निर्माण सुरु गरेका थिए । तर, काम गर्दै जाँदा बीचमै पाँचतारे रिसोर्ट सञ्चालन गर्ने सोच बन्यो । चितवनमा एउटै पाँचतारे छैन । एउटै प्रकृतिका होटेल चलिरहेका र खुल्ने गरेको चितवनमा उनले पाँचतारे रिसोर्टमा भविष्य देखे । अहिले ६४ कोठाको पाँचतारे रिसोर्ट निर्माण भइरहेको छ, जुन ‘रोयल टुलिप’ रिसोर्टको नामबाट सञ्चालन हुनेछ ।

भूकम्प, नाकाबन्दी र कोभिड महामारी नभएको भए काठमाडौंको कान्तिपथमा अहिलेसम्म पाँचतारे होटेल सेराटन सञ्चालनमा आइसकेको हुन्थ्यो । गैरआवासीय नेपाली शेष घलेको लगानी रहेको दुई सय २५ कोठाको सेराटन सन् २०१८ को फेब्रुअरीमै सञ्चालन गर्ने लक्ष्य थियो । अब यो होटेल सन् २०२३ भित्र सञ्चालनमा ल्याउने तयारीसाथ काम भइरहेको छ । शंकर समूहले नक्सालमा निर्माण गरिरहेको एक सय ७४ कोठाको पाँचतारे हिल्टन होटेल पनि आगामी वर्षभित्र सञ्चालनमा ल्याइसक्ने ‘डेडलाइन’ छ ।

बाराही ग्रुपले पोखराको सेदीमा ‘सेदी लक्जरी रिसोर्ट’ निर्माण गरिरहेको छ भने रियलस्टेट व्यवसायी इच्छाबहादुर वाग्लेले सिमराको होटेल इच्छालाई पाँचतारेमा स्तरोन्नति गर्दै छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको धुलिखेलमा पाँचतारे ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनको अन्तिम तयारीमा छ । व्यवसायी मोती दुगडले विराटनगरमा डेढ वर्षभित्रै पाँचतारे ‘र्‍याडिसन’ होटेल सञ्चालनमा ल्याउँदै छन् ।

यी त केही उदाहरण मात्रै हुन्, आगामी वर्ष ०८० भित्र देशका विभिन्न स्थानमा १७ वटा पाँचतारे होटेल सञ्चालनमा आउँदै छन्, जसमा ४९ अर्ब लगानी भइरहेको छ । निर्माणाधीन अधिकांश होटेलले व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ल्याउन सम्झौता गरिसकेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली पर्यटनमा पनि गुणस्तर थपिदिने व्यवसायीहरूको भनाइ छ । अहिले देशभर १८ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । आगामी डेढ वर्षभित्र देशका ३५ वटा पाँचतारे होटेलमा पाँच हजार दुई सय ३३ कोठा पुग्नेछन् । 

अहिले देशभर दुई दर्जनभन्दा बढी पाँचतारे होटेल निर्माण भइरहेका छन् । त्यसमध्ये डेढ वर्षभित्रै सञ्चालनमा आउने भनिएका १७ पाँचतारे होटेलमा दुई हजार ४६ कोठा छन् । अहिले सञ्चालनमा रहेका १८ वटा पाँचतारेमा दुई हजार आठ सय ७७ कोठा छन् । अहिले काठमाडौंमा ११, पोखरा, बाँके र झापामा दुई–दुई र रुपन्देहीमा एउटा पाँचतारे होटेल सञ्चालनमा छन् । 

म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवालले नेपालमा पर्यटनको अथाह सम्भावना देखेर नै पाँचतारे होटेलमा लगानी ओइरिएको बताए । ‘यहाँको सम्भावना देखेरै अन्तर्राष्ट्रिय होटेल चेनहरू आउन तम्सिएका हुन् । निर्माणाधीन अधिकांश होटेलले व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन ल्याउन सम्झौता गरिसकेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डले नेपाली पर्यटनमा गुणस्तर थपिदिन्छन्,’ उनले भने । 

नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीले जति धेरै विदेशी चेन आउँछन्, देशलाई त्यति नै फाइदा हुने बताए । ‘उनीहरूले नेपाली पर्यटनको मार्केटिङ गरिदिन्छन् । विश्व भ्रमणमा निस्कने धनाढ्य खर्चालु पर्यटक ल्याउन पनि अन्तर्राष्ट्रिय चेनमार्फत सहज हुन्छ । किनभने धनाढ्यले बढी लक्जरी खोज्छन्,’ उनले भने, ‘अहिले पाँचतारेमा भइरहेको लगानी लहडमा होइन, सम्भावना देखेरै ओइरिएको हो । अझ सहुलियत दिएरै भए पनि अन्तर्राष्ट्रिय ब्रान्ड तान्नुपर्छ ।’ अन्तर्राष्ट्रियस्तरका होटेल खुलेपछि लक्जरी पर्यटक पनि नेपाल आउन थाल्ने उनको भनाइ छ ।

तीनवटा प्रदेशमा पाँचतारे होटेल छैन
देशभित्र पाँचतारेको संख्या १८ पुगिसक्दा पनि सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा एउटै पाँचतारे सञ्चालनमा छैनन् । सुदूरपश्चिम र कर्णालीमा अझै कसैले बनाउने घोषणा पनि गरेका छैनन् । मधेस प्रदेशमा भने सिमराको ‘होटेल इच्छा’ पहिलो पाँचतारे बन्दै छ । घरजग्गा व्यवसायी इच्छाबहादुर वाग्लेले होटेल इच्छालाई पाँचतारे स्तरमा वर्गीकरण गर्न प्रक्रिया अगाडि बढाइसकेका छन् । होटेलको स्तरोन्नति गर्दा लगानी पनि बढेर एक अर्ब ६५ करोड रुपैयाँ पुगेको उनको भनाइ छ । होटेलमा मिनी क्यासिनो पनि सञ्चालन गर्ने उनको योजना छ । 

यसकारण पाँचतारे रिसोर्ट बनाउन कस्सिएँ : रामेश्वर शाह, सञ्चालक, रोयल टुलिप रिसोर्ट (सौराहा)
अहिले देशमा डेढ दर्जन पाँचतारे छन्, तर चितवनमा एउटै छैन । त्यहाँ एउटै प्रकृतिका होटेल–रिसोर्टमा लगानी भइरहेको छ । त्यसैले पाँचतारेको आवश्यकता महसुस गरेर लक्जरी रिसोर्ट निर्माण गर्न कस्सिएको हुँ । सुरुमा साधारण बुटिक रिसोर्ट सञ्चालन गर्ने सोचले अगाडि बढेँ । तर, चितवनको बजार बुझ्दा एउटै स्तरको रिसोर्ट बनाउँदा नयाँले पुराना रिसोर्टसँग प्रतिस्पर्धा गर्न कठिन हुने देखियो । पुराना होटेल कम लगानीमा बनेका हुन्छन्, ऋण पनि हुँदैन । र, सेवा कम मूल्यमा बिक्री गर्न सक्छन् । तर, नयाँले त्यसै गर्दा सञ्चालन खर्च धान्नै गाह्रो हुन्छ । बढी मूल्य राखे प्रतिस्पर्धा गर्न सकिँदैन । त्यसैले पनि लक्जरी पाँचतारे रिसोर्टमा जान खोजेको हुँ । त्यो क्याटेगोरीमा चितवनमा प्रतिस्पर्धा नै छैन ।

पाँचतारेविहीन चितवनमा ‘रोयल टुलिप’ आउँदै
होटेलहरूको राजधानी नै मानिने चितवनमा अहिलेसम्म पाँचतारे रिसोर्ट सञ्चालनमा छैनन् । नारायणगढ, भरतपुर, सौराहा, मेघौलीलगायत ठाउँमा एउटै प्रकृतिका होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । खर्चालु पर्यटकलक्षित मेघौलीको बाराही जंगल लज र मेघौली सेराईले पाँच तारा लिएका छैनन् । यही मौका छोपेर केटिएम हस्पिटालिटी ग्रुपले पाँचतारे रिसोर्ट निर्माण गर्न लागेको हो ।

पाँचतारे ‘रोयल टुलिप’ २०८० को दसैँसम्म सञ्चालनमा ल्याइसक्ने सञ्चालक रामेश्वर शाहले बताए । यो रिसोर्ट फ्रान्सेली ‘लुभ्र होटेल्स’ ग्रुपले सञ्चालन गर्नेछ । करिब ३४ रोपनीमा रहने रिसोर्टमा पाँच प्रकारका ६४ कोठा हुनेछन् । ‘चितवनमा पाँचतारेको स्कोप देखेर लगानी गर्न तम्सिएको हुँ, करिब ८५ करोड लगानी हुने अनुमान छ,’ शाहले भने, ‘पाँचतारेले चितवनकै पर्यटनको गरिमा बढाउने विश्वास छ ।’

प्रदेश १ मा दुईवटा पाँचतारे थपिँदै 
प्रदेश १ को झापामा ‘मेची क्राउन’ र ‘किङ्ग्सबरी’ गरी दुईवटा पाँचतारे होटेल खुलिसकेका छन् । यी दुई होटेलमा एक सय ८३ कोठा छन् । झापामै बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले पाँचतारे होटेल ‘टाइगर टु’ बनाउने घोषणा गरिसकेको छ । यसबाहेक पनि यो प्रदेशमा छिट्टै दुईवटा पाँचतारे होटेल थपिँदै छन् । एमाले नेता एवं व्यवसायी मोती दुगडले विराटनगरमा मलसहित पाँचतारे होटेल ‘र्‍याडिसन’ सञ्चालनमा ल्याउँदै छन् । यस्तै, इटहरीका व्यवसायी भीम पौडेल र बलराम आचार्यको संयुक्त लगानीमा इटहरीमा अर्को पाँचतारे ‘सोल्टी वेस्टेन्ड इटहरी’ सञ्चालनमा आउँदै छ । र्‍याडिसनमा एक सय ४६ कोठा हुनेछन् भने सोल्टी वेस्टेन्ड (गरिमा)मा ९० कोठा रहने सञ्चालकहरूले बताएका छन् । 

सेन्चुरियन ग्रुपले विराटनगरमा डेढ बिघामा होटेल, मल र क्यासिनोका लागि १२ तलाका तीनवटा टावर ठड्याइसकेको छ । तीन अर्ब लगानी हुने होटेल अन्तर्राष्ट्रिय चेन ब्रान्ड र्‍याडिसनले सञ्चालन गर्नेछ । यस्तै, इटहरीको गरिमा होटेलको व्यवस्थापन स्वदेशी होटेल ब्रान्ड सोल्टीले गर्नेछ । एक अर्ब ३० करोड रुपैयाँ लगानी रहने यो होटेलमा क्यासिनो पनि रहने सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । आउँदो सेप्टेम्बरदेखि होटेल सञ्चालनमा ल्याउने लक्ष्यसहित फिनिसिङको काम भइरहेको उनको भनाइ छ । 

पोखराका दुईमध्ये फूलबारी बन्द, पाँचवटा पाँचतारे आवश्यक
पर्यटकीय सहर पोखरामा रहेका दुईवटा पाँचतारे होटेलमध्ये फूलबारी रिसोर्ट बन्द छ भने पोखरा ग्रान्ड मात्र सञ्चालनमा छ । कुनै समय एसियाकै उत्कृष्ट रिसोर्टमा पर्ने फूलबारी बन्द भएपछि पोखरा लक्जरी होटेलविहीन बनेको छ । पोखराका मेयर धनराज आचार्यले पर्यटकीय नगरीमा पाँचतारे लक्जरी होटेलमा लगानी हुन नसकेको बताए ।

पछिल्लो समय सोल्टी होटेल र बाराही ग्रुप पोखरामा पाँचतारे होटेल सञ्चालन गर्न कस्सिएका छन् । लेकसाइडमा रहेको २८ रोपनी जग्गामा करिब डेढ अर्ब लगानी गरेर दुई वर्षभित्र पाँचतारे होटेल खोल्ने तयारी थालिएको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईंले बताए । उनका अनुसार होटेलमा सय कोठा हुनेछन् । 

बाराही ग्रुपले पामेमा साढे पाँच अर्ब लगानीमा एक सय ९० कोठाको ‘सेदी लक्जरी होटेल’ निर्माण सुरु गरिसकेको छ । ‘हाम्रो प्रोजेक्टमा ११ वटा घर हुनेछन्, जुन लामो समयसम्म बस्ने पाहुनाका लागि हो,’ ग्रुपका अध्यक्ष विप्लव पौडेलले भने, ‘अढाई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य छ ।’ 

मेयर आचार्यले चाँडै पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी भइरहेको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउँदै छ, चीनसँग सडकबाटै पोखरा जोडिँदै छ । पोखरालाई चाँडै देशको पर्यटकीय राजधानी घोषणा गर्दै छौँ,’ उनले भने, ‘पोखरामा अझै पाँचवटा पाँचतारेको खाँचो छ ।’ पर्यटक आउन थालेपछि पोखरामा अहिलेका होटेलले नपुग्ने उनको भनाइ छ ।

बुटवल–भैरहवामा पाँचतारेको ओइरो
रुपन्देहीमा बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले ‘टाइवर वान’ रिसोर्ट सञ्चालनमा ल्याएको छ । यो रुपन्देहीकै (बुटवल–भैरहवा–लुम्बिनी) पहिलो पाँचतारे हो । चर्चित मिठाई व्यवसायी पवनकुमार हलुवाईले लुम्बिनीमा एक सय ४६ कोठाको ‘पवन प्यालेस’ सञ्चालनमा ल्याएका छन् । २०८० भित्र बुटवल, भैरहवा र लुम्बिनीमा थप पाँचवटा पाँचतारे होटेल सञ्चालनमा आउन लागेको व्यवसायीहरू बताउँछन् । 

सिद्धार्थ हस्पिटालिटी दसैँ–तिहारसम्म भैरहवाको अञ्चलापुरमा पाँचतारे ‘होटेल सिद्धार्थ’ सञ्चालन गर्ने तयारीमा छ । ‘होटेलको धेरै काम सकिइसकेको छ, छिट्टै होटेल सञ्चालनमा ल्याउँछौँ,’ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले भने, ‘चार बिघामा बनिरहेको होटेलमा ८५ कोठा हुनेछन्, जसमा दुई अर्बहाराहारी लगानी हुँदै छ ।’ यस्तै, घिमिरे समूहले भैरहवाको बुद्धचोकमा तीन अर्ब लगानीमा एक सय तीन कोठाको एसियन इन्टरनेसनल रिजेन्सी होटेल निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।

भुसाल ग्रुपले भैरहवाको बेलहियामा एक सय १७ कोठाको पाँचतारे ‘मेघा–२’ सञ्चालन गर्दै छ, जसमा साढे दुई अर्ब लगानी हुँदै छ । यो होेटेल एक वर्षभित्र सञ्चालनमा ल्याइसक्ने ग्रुपका अध्यक्ष बालकृष्ण भुसालले बताए । भैरहवाकै लुम्बिनी रोडमा एक अर्ब लगानीमा बहुराष्ट्रिय चेन होटेल ‘होली डे इन’ निर्माण भइरहेको छ । होटेल सञ्चालक सुरज उप्रेतीका अनुसार होटेलमा एक सय २५ कोठा रहनेछन् । बुटवलको सुक्खानगरमा निर्माण भइरहेको एक सय आठ कोठाको पाँचतारे सफ्रोन होटेल सन् २०२३ को नोभेम्बरसम्म सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । एक अर्ब ४५ करोड लगानी हुने १२ तले होटेलको सिभिल स्ट्रक्चरको काम अन्तिम चरणमा पुगेको छ । 

सन् २०८० भित्र काठमाडौंमा सातवटा पाँचतारे थपिँदै
पाँचतारे होटेल काठमाडौं उपत्यकामा केन्द्रित देखिन्छन् । अन्तर्राष्ट्रिय चेन होटेलको आकर्षण पनि उपत्यकामै बढी छ । अहिले ११ पाँचतारे होटेल रहेको काठमाडौंमा २०८० भित्र सातवटा थपिन लागेका छन् । कान्तिपथमा निर्माण भइरहेको सेराटन होटेलमा सिसा लगाउने काम भइरहेको छ । बेसमेन्टसहित २१ तलाको होटेलमा करिब १२ अर्ब लगानी हुने बताइएको छ । देशकै सबैभन्दा ठूलो लगानी हुन लागेको सेराटन आगामी वर्ष सञ्चालनमा ल्याउने तयारी छ ।

शंकर समूहले नक्सालमा एक सय ७५ कोठाको हिल्टन होटेल बनाइरहेको छ, जुन आगामी वर्षसम्म सञ्चालनमा आउनेछ । यो होटेल सञ्चालनमा आउँदा लगानी साढे ६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ । १० रोपनी क्षेत्रफलमा बनिरहेको होटेलको १७औँ तलामा स्विमिङ पुल हुनेछ । 

बुढानीलकण्ठमा तीनवटा पाँचतारे बन्दै
काठमाडौंको बुढानीलकण्ठमा तीनवटा पाँचतारे होटेल बन्दै छन् । ‘होटेल बुढानीलकण्ठ हेरिटेज’ र ‘होली डे इन’ यसै वर्ष सञ्चालनमा आउँदै छन् । त्यस्तै, सूर्य नेपालले ६ अर्ब रुपैयाँ लगानी गरेर पाँचतारे लक्जरी होटेल खोल्ने प्रक्रिया अगाडि बढाइसकेको छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको बुढानीलकण्ठ हेरिटेज निर्माणको अन्तिम चरणमा छ । सिए दीपक पाण्डे, सेयर व्यवसायी अम्बिकाप्रसाद पाण्डे, सिए नवराज बुर्लाकोटीलगायतको लगानी रहेको एक सय दुई कोठाको यो होटेल करिब १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यस्तै, दीपक खड्काको दुई अर्ब ६० करोड लगानीमा बनिरहेको ‘होली डे इन’ पनि यसै वर्ष सञ्चालन हुनेछ । २६ रोपनी जग्गामा बनेको यो होटेलमा एक सय १५ कोठा रहने बताइएको छ ।

अरुण चौधरी नेतृत्वको सिजी होल्डिङ्सले ललितपुरको पुल्चोकमा पाँचतारे होटेल निर्माण गरिरहेको छ । नौ रोपनी क्षेत्रफलमा बनिरहेको एक सय ८४ कोठाको ‘क्राउन प्लाजा’सन् २०२४ को सुरुवाततिरै सञ्चालनमा ल्याउने लक्ष्य छ । साढे तीन अर्ब लगानी हुने यो होटेल इन्टरनेसनल होटेल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आइएचजी)ले सञ्चालन गर्ने सम्झौता भएको छ ।

लाजिम्पाटमा बनिरहेको पाँचतारे ‘दुसित प्रिन्सेस’ सञ्चालनको अन्तिम चरणमा छ । यो होटेल थाइल्यान्डको अन्तर्राष्ट्रिय चेन दुसित इन्टरनेसनलले सञ्चालन गर्नेछ । कोभिड महामारी नभएको भए यो अहिलेसम्म सञ्चालनमा आइसकेको हुन्थ्यो । त्यस्तै, देशबन्धु बस्नेतसहितको टिमले सुकेधारामा पाँचतारे मेट्रोपोलिटन होटेल बनाइरहेको छ । आगामी १४ महिनाभित्र सञ्चालनमा ल्याउने होटेलमा एक सय १६ कोठा रहेका छन् भने डेढ अर्ब लगानी हुनेछ । 

धुलिखेलमा पनि पाँचतारे 
काभ्रेको धुलिखेलमा पनि पहिलोपटक पाँचतारे रिसोर्ट खुल्ने भएको छ । थाइल्यान्डको चर्चित होटेल दुसित थानीको चेन होटेल धुलिखेलमा खुल्न लागेको हो । गैरआवासीय नेपाली संघ थाइल्यान्डका पूर्वअध्यक्ष रमेश हमालले साढे दुई अर्ब लगानी गरेर ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालन गर्न लागेका हुन् । यो रिसोर्ट देशकै पहिलो पाँचतारे वेलनेस रिसोर्ट हुने उनको भनाइ छ । ६३ रोपनीमा बनिरहेको रिसोर्टमा ८३ कोठा हुनेछन्, जुन तिहारसम्म सञ्चालनमा ल्याउने लक्ष्य छ ।
 

सुझावित समाचार