एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको आरोप लगाएका छन्।
सोमबार काठमाडौंमा पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उपमहासचिव ज्ञवालीले कालो धनलाई सेतो बनाउन नै अहिले पनि गभर्नर महाप्रसाद अधिकारीमाथि लाञ्छना लगाइएको बताए।
‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरू भए अहिले गभर्नरमाथिको हमला त्यही त हो। हिजो उहाँहरूले हटाउने प्रयास गर्नुभएकै हो। जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट, स्राेत देखाउनुस् भन्यो, स्राेत देखाउन सक्दैन। १७–१८ वटा फेक कम्पनीहरू छन्। अमेरिकामा सोध्दा ती कम्पनीहरूकाे कुनै पनि महत्व छैन। यो स्राेत गलत हो भन्छ, मन्त्रीजीले तोक लगाउनुहुन्छ, त्यो धनलाई तुरुन्त फुकुवा गर्नू । त्यो गर्न नमानेबापत् राष्ट्र बैंकमाथि हमला भएको हो,’ उनले भने।
आर्थिक हिसाबले पनि देश कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको ज्ञवालीको दाबी छ। उनले बनावटी रूपमा मूल्यवृद्धि गर्दा आमजनताको चुलो बल्न नसकेको भन्दै आफ्नो घरमा समेत दुईथरी तरकारी पाक्ने अवस्था नरहेको बताए।