नयाँ पत्रिकाकर्मी भुसाल पुरस्कृत

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

कपिलवस्तुस्थित नयाँ पत्रिका दैनिकका संवाददाता डिलाराम भुसाल पुरस्कृत भएका छन्। लुम्बिनी प्रदेश सरकारले ५० हजार राशिको ‘सिर्जनशील पत्रकारिता पुरस्कार’बाट भुसाललाई पुरस्कृत गरेको हो। 

मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले ५० हजार राशिको उक्त पुरस्कार प्रदान गरेका हुन्। 

प्रदेश सरकारले अग्रज पत्रकारिता सम्मान पुरस्कारबाट पत्रकार खिमानन्द भट्टराई र मरणोपरान्त बिन्दुकुमार चौहानलाई सम्मान गरेको छ। यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ। लुम्बिनी क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील चौहानको गत वर्ष मृत्यु भएको थियो। अग्रज पत्रकारिता सम्मान दुईजनालाई संयुक्त रूपमा प्रदान गरिएको हो। 

त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट सन्जु पौडेल र प्रेम विक सम्मानित भएका छन्। उनीहरूलाई पनि ५० हजारका दरले सम्मान गरिएको हो। सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले सञ्चारमाध्यमले सरकार र जनताको बीचमा पुलको काम गरिरहेको बताउँदै यसलाई अझ मयार्दित बनाउनुपर्ने बताए।

कार्यक्रममा प्रदेश सरकार कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दीपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीलगायतको सहभागिता थियो।

सुझावित समाचार