भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

आरएमसी ग्रुपले सञ्चालन गरेको पाल्पा सिमेन्ट उद्योगले शुक्रबारदेखि आफ्नो उत्पादन भारत निर्यात गर्न सुरु गरेको छ । उद्योगले ‘तानसेन सिमेन्ट’ रुपन्देहीको सीमानाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु गरेको हो ।

पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले आफ्नो उत्पादन पहिलोपटक भारत निर्यात गरेको उद्योग सञ्चालक शेखर अग्रवालले जानकारी दिए । स्थानीय र राष्ट्रियस्तरमा बजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको तानसेन सिमेन्ट भारत निकासी सुरु गरेको उद्योगका सिइओ अतुल डालमियाले बताए ।  

उद्योगले उत्पादन गरेको १० प्रतिशत सिमेन्ट भारत निर्यात गर्ने सिइओ डालमियाको भनाइ छ । भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नका लागि नेपाल सरकारले विद्युत्मा केही छुट दिन आवश्यक रहेको उनले बताए । 

भारततर्फको निकासीले आर्थिक गतिविधिलाई क्रियाशील गराउने उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले बताए । यसले सिमेन्ट उद्योगलाई मात्र नभई सबै क्षेत्रलाई सहयोग पुर्याउने उनको भनाइ छ । नेपाल आयात मात्र गर्ने देशको सूचीमा रहे पनि सिमेन्टमा आत्मनिर्भर भई भारत निर्यात गर्नु ठूलो उपलब्धि भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । नेपालको व्यापार घाटामा अब विद्युत् र सिमेन्ट भारत निर्यातले केही राहत दिने उनको भनाइ छ ।  

तानसेन सिमेन्ट भारततर्फ निकासी गर्नु गर्वको विषय भएको सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले बताइन् । सुनवलमा उत्पादन भएको सिमेन्ट नेपालमा मात्रै उपभोग नभई भारतमा पनि निकासी हुनु सुनवलका लागि गौरवको कुरा भएको नगर प्रमुख अर्यालको भनाइ थियो । 

बेलहिया नाका भएर उद्योगले शुक्रबार सातवटा गाडीमार्फत पाँच हजार एक सय बोरा सिमेन्ट भारत पठाएको उद्योगका सेल्स हेड विष्णु भट्टराईले बताए । पाल्पा सिमेन्टले दैनिक एक हजार आठ सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका सेल्स एनलाइजर अमेन्द्र श्रीवास्तवले बताए । पाँच वर्षपहिले स्थापित सिमेन्ट उद्योगले तीन वर्षअघिदेखि उत्पादन सुरु गरेको हो । पाल्पा जिल्लाको माथागढी–७, रहवासमा उद्योगको चुनढुंगा खानी रहेको छ ।

सुझावित समाचार