सिपिसीका नेता प्रमुख दलसँग संवादमा : मैत्रीपूर्ण सम्बन्ध निर्माणको कोसिस

आइतबार, १९ असार, २०७९
डिजिटल संस्करण

एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण, कांग्रेससँग मैत्रीपूर्ण सम्बन्ध आदानप्रदान कायम गर्न तयार

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले पछिल्लो एक सातामा प्रमुख दलका नेताहरूसँग बेग्लाबेग्लै भर्चुअल संवाद गरेका छन् । प्रमुख लिउ जियानचाओले भिन्दाभिन्दै मितिमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता डा. नारायण खड्कासँग संवाद गरेका हुन् । 

भर्चुअल संवाद र विषयवस्तुबारे तीनै पार्टीले औपचारिक सार्वजनिक गरेका छैनन् । तर, चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो वेबसाइटमार्फत भेटवार्ता सम्बन्ध सुधारमा केन्द्रित रहेको जनाएको छ । चिनियाँ नेता लिउले ९ असारमा प्रचण्ड, १० असारमा ओली र १६ असारमा खड्कासँग भर्चुअल संवाद गरेका थिए । 

भर्चुअल संवादमा सिपिसीको अन्तर्राष्ट्रिय सम्पर्क विभागका नवनियुक्त प्रमुख लिउ जियानचाओले भने– सम्बन्ध थप सुदृढ बनाउन चाहन्छौँ
एमाले र माओवादीसँग सिपिसीको समान धारणा र भावना छ । हामी अन्तर्पार्टी आदानप्रदान थप सुदृढ बनाउन चाहन्छौँ । दुई पार्टीसँग सिपिसीले सम्बन्ध थप सुदृढ बनाउँछ र जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउँछौँ । दुई देश र पार्टीहरूले एक–अर्काको चासो सम्बोधन गर्ने कुरामा ध्यान दिन्छौँ । तथा सम्बन्धको स्वस्थ र स्थिर विकासमा पनि ध्यान राख्छौँ । सिपिसीको आसन्न २०औँ महाधिवेशनले नेपाल र चीन सम्बन्धको विकासमा नयाँ गति दिनेछ । चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लामो संघर्षका उपलब्धि र ऐतिहासिक अनुभवले नेपालका पार्टीहरूलाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी कांग्रेसलगायत सबै नेपाली राजनीतिक दलसँग मैत्रीपूर्ण सम्बन्ध आदानप्रदान कायम गर्दछ । 

चिनियाँ पूर्वकूटनीतिज्ञ लिउले १८ जेठदेखि पार्टी अन्तर्राष्ट्रिय विभाग समन्वय प्रमुखको जिम्मेवारी लिएका थिए । लिउअघि पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागको नेतृत्वमा चिनियाँ अनुभवी कूटनीतिज्ञ सोङ ताओ थिए । लिउ पनि अनुभवी कूटनीतिज्ञ मानिन्छन् । पछिल्लोपटक नेपालमा अमेरिकी चासो बढेको टिप्पणी भइरहँदा चिनियाँ पक्षले प्रमुख दलहरूसँग संवाद गरेको हो । 

भर्चुअल संवादमा चिनियाँ पार्टीसँग एमाले र माओवादीको भाइचारा सम्बन्ध नवीकरण गर्ने समझदारीपत्र आदानप्रदान भएको छ । दुवै भर्चुअल संवादमा पार्टीहरूबीच आपसी सहयोग र आदानप्रदानसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको सिपिसीले जनाएको छ । ओली र प्रचण्डसँग दुई दिनको फरकमा भएको भर्चुअल संवादबारे सिपिसीले एउटै प्रेस नोटमा समावेश गरेको छ । 

संवादमा सहभागी एमाले केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले दुई पार्टीबीच सम्बन्ध नवीकरणसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको जानकारी दिए । ‘दुई पार्टीबीच विगतमा रहँदै आएको भाइचारा सम्बन्धको नवीकरण भएको हो, अरू त्यस्तो नयाँ केही भएको होइन,’ उनले भने । 

संवादमा चिनियाँ नेता लिउले एमाले र माओवादीसँग सिपिसीको समान धारणा र भावना रहेको भन्दै अन्तर्पार्टी आदानप्रदान थप सुदृढ हुने बताएका छन् । उनले दुई पार्टीसँग सिपिसीले सम्बन्ध थप सुदृढ बनाउने र जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् । दुई देश र पार्टीहरूले एक–अर्काको चासो सम्बोधन गर्नुपर्ने तथा सम्बन्धको स्वस्थ र स्थिर विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

उनले ओली र प्रचण्ड दुवैलाई सिपिसीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिएका थिए । ‘पार्टी महाधिवेशनले नेपाल र चीन सम्बन्धको विकासमा नयाँ गति दिनेछ,’ लिउले भनेका छन् । ओली र प्रचण्डले सिपिसीको २०औँ महाधिवेशन सफलताका लागि शुभकामना दिएका छन् । 

सिपिसीका अनुसार ओली र प्रचण्डले नेपाल–चीन मित्रता दिगो रहेको बताएका थिए । दुवै नेताले सिपिसीसँग सम्बन्धलाई उच्च प्राथमिकता दिएको र नेपालमा चीनविरोधी गतिविधि प्रयोग गर्न कहिल्यै कसैलाई अनुमति नदिने पनि वचन दिएका थिए । ओली र प्रचण्डलाई उद्धृत गर्दै सिपिसीको वेबसाइटमा उल्लेख छ, ‘चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लामो संघर्षका उपलब्धि र ऐतिहासिक अनुभवले नेपालका पार्टीहरूलाई पनि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ ।’ 

ओली र प्रचण्डसँग चिनियाँ नेता लिउले नेपाल र चीन हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी र साझा भविष्यका विकास साझेदार भएको बताए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच मित्रता रणनीतिक साझेदारीमा स्तरोन्नति भएको स्मरण गरेका थिए ।

‘सम्बन्ध द्रुत विकासको नयाँ युगमा प्रवेश गरेको छ,’ संवादमा लिउले भनेका थिए, ‘दुई शीर्ष नेताहरूले गरेको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वास थप गहिरो बनाउन, ठूला परियोजनालाई प्रवर्द्धन गर्न र बिआरआईअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग गर्ने गरी नेपालसँग काम गर्न चीन इच्छुक छ ।’ 

चिनियाँ नेताले कांग्रेस सभापति रहेका प्रधानमन्त्री देउवासँग नभएर परराष्ट्रमन्त्री डा. खड्कासँग कांग्रेस नेताको हैसियतमा संवाद गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको वेबसाइटमा चिनियाँ भाषा पेजमा राखिएको नोटअनुसार खड्काले परराष्ट्रमन्त्रीका रूपमा नभएर कांग्रेस नेताका रूपमा संवाद गरेका हुन् । संवादमा कांग्रेस नेता खड्काले चिनियाँ नेतालाई आफ्नो पार्टीको परराष्ट्र नीति बताएका छन् । 

सिपिसी नेता लिउले नेता खड्कालाई दुई देशले कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षयता सधैँ एक–अर्कालाई बुझेको र सहयोग गरेको बताए । ‘चिनियाँ कम्युनिस्ट पार्टीले कांग्रेसलगायत सबै नेपाली राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध आदानप्रदान कायम गर्दछ,’ लिउलाई उद्धृत गर्दै सिपिसी विदेश विभागको वेबसाइटमा लेखिएको छ । लिउले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न २०औँ महाधिवेशनबारे जानकारी दिँदै त्यसपछि दुई देशबीच मात्र नभएर विश्वमा नै महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताएका थिए । दुई देशबीच साझा विकासका लागि नेपाल असल साझेदार भएको पनि लिउको भनाइ थियो । 

नेता खड्काले कांग्रेस चिनियाँ पार्टीसँग मित्रता विकास गर्न प्रतिबद्ध रहेको बताएको चिनियाँ वेबसाइटमा उल्लेख छ । ‘खड्काले पार्टी एक चीन नीतिलाई दृढताका साथ पालना गर्ने, स्वतन्त्र परराष्ट्र नीतिमा कांग्रेस प्रतिबद्ध रहेको तथा नेपाली भूमि चीनविरोधी गतिविधिमा संलग्न हुन कुनै पनि शक्तिलाई स्थान नदिने प्रतिबद्धता जनाउनुभयो,’ चिनियाँ कम्युनिस्ट पार्टीले भनेको छ, ‘कांग्रेस चिनियाँ कम्युनिस्ट पार्टीसँग संस्थागत आदानप्रदान सुदृढ गर्न चाहन्छ । दुई देशबीच विभिन्न क्षेत्रमा व्यावहारिक सहयोग प्रवर्द्धन गर्न चाहन्छ र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन पार्टी इच्छुक छ ।’ खड्काले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन सफलताका लागि शुभकामना पनि व्यक्त गरेका छन् । नेपाललाई आर्थिक–सामाजिक क्षेत्र तथा कोभिड– १९ महामारीविरुद्धको सहयोग गरेकोमा खड्काले चीनलाई धन्यवाद पनि व्यक्त गरे । 

कांग्रेस नेता खड्कासँग चिनियाँ नेता लिउको संवादबारे आफू जानकार नभएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले टिप्पणी गरे । चिनियाँ नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासँग संवादका लागि प्रस्ताव गरेको विषयमा पनि उनले अनभिज्ञता व्यक्त गरे । 

‘परराष्ट्रमन्त्रीसमेत हुनुभएकाले हाम्रो पार्टीका केन्द्रीय सदस्य नारायण खड्काजीसँग चिनियाँहरूको कुराकानी भएको हुन सक्छ, तर हामीलाई यसबारे विस्तृत जानकारी छैन,’ महतले नयाँ पत्रिकासँग भने, ‘कांग्रेस विचारधाराका आधारमा होइन, छिमेकी चीनसँग नेपालको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने हिसाबले चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध सञ्चालन गर्न चाहन्छ । हामी विचारधारा, राजनीतिक प्रणालीजस्ता मापदण्डका आधारमा कुनै पनि देशसँग सम्बन्ध राख्दैनौँ ।’ महतका अनुसार खड्का कांग्रेसको विदेश विभागसँग समबन्धित छैनन् । उनले भने, ‘कांग्रेसले विदेश विभाग गठन गरेको छैन ।’
 

सुझावित समाचार