कांग्रेसमा इतर समूहको भेला : चुनावमा सम्मानजनक टिकट बाँडफाँड सुनिश्चित गर्ने रणनीति

२७ असारमा केन्द्रीय कार्यसमिति बैठक

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

स्थानीय चुनावको टिकट वितरणमा बेवास्ता गरिएको निष्कर्ष, आगामी चुनावमा शक्तिअनुसार टिकट सुनिश्चित गर्न दबाब

आसन्न प्रदेश र संघीय निर्वाचनमा सम्मानजनक टिकट बाँडफाँड सुनिश्चित गर्न कांग्रेसमा इतर पक्षले संस्थापनविरुद्ध दबाबको राजनीति सुरु गरेको छ । स्थानीय निर्वाचनको टिकट वितरणमा आफ्नो समूहलाई बेवास्ता गरिएको निष्कर्षसहित यो समूहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको भूमिकामाथि प्रश्न उठाउँदै दबाबको राजनीति थालेको हो । 

पार्टीभित्रै उठेका प्रश्नले स्थानीय निर्वाचनसम्म सुषुप्त रहेको कांग्रेसको आन्तरिक विवाद फेरि सतहमा आएको छ । सरकार र पार्टी सञ्चालनमा देउवाको भूमिका कमजोर देखिएको निष्कर्षसहित इतर पक्षले आसन्न निर्वाचनमा आफूहरूको शक्तिअनुसारको टिकटको आधार बनाउने रणनीति अख्तियार गरेको छ । 

डा. शेखर कोइरालाको नेतृत्वमा बिहीबार र शुक्रबार गौशालास्थित अनुपम फुडल्यान्डमा भएको भेलाले देउवामाथि देशव्यापी रूपमै दबाब बनाउने रणनीति तय गरेको छ । देउवालाई पार्टीमा सन्तुलन कायम गर्न र सरकारका काम प्रभावकारी बनाउन दबाब दिने र आफ्नो चासोहरू सम्बोधन गर्न बाध्य पार्ने इतर पक्षको रणनीति छ ।

एक वर्षअघि प्रधानमन्त्री भएका तथा सात महिनाअघि पार्टी सभापति भएका देउवाको कामलाई लिएर इतर पक्षले गम्भीर प्रश्न उठाएको छ । ‘प्रधानमन्त्री एवं सभापतिको काममाथि प्रश्न उठाइए पनि मूल उद्देश्य आसन्न प्रदेश र संघीय निर्वाचनको टिकट बाँडफा“डमा सम्मानजनक व्यवहार होस् भनेर दबाब बनाउन खोजिएको हो,’ इतर समूहका एक नेताले भने । 

देउवा सरकारको नेतृत्व र सभापतिको भूमिकामा असफल रहेको निष्कर्षसहित इतर समूहले संस्थापन पक्षस“ग संघर्षको नीति अंगीकार गरेको छ । समग्र पार्टीको नभई गुटको मात्रै नेतृत्व गरेको भन्दै इतर समूहले प्रधानमन्त्रीको आलोचना गरेको छ । केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलका अनुसार भेलाले सरकारले जनजीविकाको विषय सम्बोधन गर्न नसकेको, अर्थतन्त्रका सूचक बढाउने कुरामा सफल हुन नसकेको र समग्रमा सरकार सञ्चालनमा जनतालाई राहत दिन नसकेको निष्कर्ष निकालेको बताए । राजनीतिक प्रतिबद्धताअनुसार प्रधानमन्त्री देउवाले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमातहतबाट नहटाएको आरोप लगाइएको छ । यसबाहेक व्यापक रूपमा नीतिगत भ्रष्टाचार भएको इतर पक्षको आरोप छ । इतर पक्षले सरकारको परराष्ट्र नीतिमाथि पनि प्रश्न उठाएको छ । 

इतर पक्षले देउवा कांग्रेसको भन्दा पनि गठबन्धनको सभापति भएको आरोप लगाएको छ । ‘पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले उहाँ हाम्रो पनि सभापति हुँ भन्ने अनुभूति दिलाउन सक्नुभएन । यसविरुद्ध हामी हरेक प्रदेश र पालिकामा पार्टी विधानअनुरूप चलोस् भनेर दबाब दिनेछौँ ।’ 

केन्द्रीय समितिमा संस्थापन पक्षको सुविधाजनक बहुमत छ । स्थानीय निर्वाचनमा इतर समूहको असन्तुष्टिबीच सभापति देउवाले पाँचदलीय गठबन्धनमा तालमेल गर्ने निर्णय लिएका थिए । निर्वाचनमा कांग्रेस पहिलो शक्ति बनेको छ । 

बिहीबार भेलामा पार्टी सभापतिविरुद्ध रचनात्मक विद्रोह गर्नेबारे छलफल भएको थियो । ‘पार्टीको आन्तरिक विषयमा छलफल गरेका छौँ । सभापतिविरुद्ध रचनात्मक विद्रोह गर्ने भन्ने छलफल भएको छ,’ नेता डा. चन्द्र भण्डारीले भनेका थिए, ‘पार्टी विधानअनुसार काम गर्न सक्नुभएन, नीति अधिवेशन गर्ने प्रावधान पनि लागू हुन सकेन । सरकार पुनर्गठनमा पनि उहाँको चासो देखिएन । गुटको नभई सिंगो पार्टीको प्रतिनिधित्व गर्दै मुलुकको प्रतिनिधित्व गर्नुस् भन्ने हाम्रो दृष्टिकोण हो ।’ 

२७ असारमा केन्द्रीय कार्यसमिति बैठक 

कांग्रेसले २७ असारका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार २७ असार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । उनका अनुसार स्थानीय तह निर्वाचनको समीक्षा र समसामयिक विषयबारे छलफलका लागि बैठक आह्वान गरिएको हो ।

८० प्रतिशत केन्द्रीय सदस्य भए पनि आफ्नो पक्षमा उहाँले सर्वसम्मतिले निर्णय गर्नुभएको छ 

सहमहामन्त्री फर्मुल्लाह मन्सुर (देउवा पक्ष)

कांग्रेसका देशभरका कार्यकर्ताले सबैलाई मिलाएर पार्टी हाँक्न सक्ने नेताका रूपमा सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गराउनुभएको हो । अहिले उहाँले सरकार र पार्टीको नेतृत्व गर्नुभएको छ । आफ्नो कौशलता प्रयोग गरेर उहाँले कांग्रेसलाई स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउनुभयो । पेलेर हिँडे, सल्लाह लिएनन्, एकलौटी गरेर हिँडे भन्ने आरोप मात्र हो । जब कि उहाँको पहिचान र खुबी पार्टीका सबैलाई सँगै लिएर हिँड्नेमा छ, यसमा स्थापित हुनुभएको छ । पार्टीका सबै नेतालाई राखेर सर्वसम्मतिले निर्णय गरेर पार्टी चलाउनुभएको छ । उहाँकै निर्देशनमा सातै प्रदेश र ७७ जिल्लाका साथीहरूले सबैलाई मिलाएर हिँड्ने प्रयास गरेकाले स्थानीय तह निर्वाचन भयो । लोकतान्त्रिक पार्टीमा आफ्ना कुरा राख्ने अधिकार र आफ्नो अस्तित्व स्थापित गर्ने काम हुन्छ, यो अस्वाभाविक होइन । तर, केन्द्रीय समितिको बैठक बस्दै छ । त्यहाँ कुरा राखेको भए भइहाल्थ्यो नि ! त्यहाँ बहुमतले के निर्णय गर्छ, त्यो सबैले मान्नुपर्छ । सभापतिले कौशलतापूर्वक गठबन्धन मिलाएर अगाडि बढ्नुभएको छ । ८० प्रतिशत केन्द्रीय सदस्य भए पनि उहाँले सर्वसम्मतिले निर्णय गर्नुभएको छ । यसलाई कसैले लोकतन्त्रविरोधी, सिद्धान्तविरोधी, परम्पराविरोधी भन्छ भने त्यो आत्मरतिमा रुमल्लिएकाको कुण्ठा हो । अरू केही होइन ।

प्रदेश र संघीय निर्वाचनमा सरसल्लाह होस् भनेर सुझाब र दबाब दिइएको हो : गुरु घिमिरे, नेता, इतर समूह

महाधिवेशन सकिएको सात महिनामै गुटको भेला गर्दै हुनुहुन्छ, यो अवस्था कसरी आयो ?
पार्टीलाई एकताबद्ध बनाएर लैजाने दायित्व र जिम्मेवारी पार्टी सभापतिको हो । प्रतिस्पर्धी समूहलाई समेटेर लैजान सक्नुभएन । उहाँले पार्टीलाई पुरानै पदचिह्नमा हिँडाइरहनुभएको छ । यो अवस्था अन्त्य गर्नुपर्छ भन्ने हाम्रो विचार समूहको निष्कर्ष हो, त्यसैका लागि भेला गरेको हो । 

सभापति र प्रधानमन्त्रीको हैसियतमा कहाँ–कहाँ चुक्नुभयो ?
उहाँ दुईपटकसम्म सभापति निर्वाचित हुनुभयो । के–के विषयमा अप्ठ्यारो, असहजता भयो वा प्रतिस्पर्धी समूहले के–के प्रश्न उठायो, के–के मा बेमेल भयो र कुन–कुन विषयमा अर्कोपटक नेतृत्वमा आएपछि दोहोरिन दिन हुँदैन भन्ने अनुभव उहाँलाई थियो । १४औँ महाधिवेशनपछि पनि उहाँ पुरानै पदचापमा हिँड्नुभयो । ६ महिनाभित्र उहाँले बनाउनुपर्ने पार्टीका विभाग, समिति विस्तार गर्ने र पदाधिकारी नियुक्त गर्ने यी सबै काम उहाँले गर्नुभएन । केन्द्रीय समितिमा आफूलाई भोट हालेका, आफूलाई सघाएका या आफ्नो सहयोगीलाई मनोनयन गर्नुभयो ।

प्रतिस्पर्धी समूहबाट उहाँले प्रतिनिधित्व गराउनुभएन । खाली रहेका भ्रातृ संस्था नेतृत्वमा पनि दुई महाधिवेशनको बीचमा अधिवेशन नै गराउनु भएन । तदर्थबादमा नै भातृ संस्था चले । एकपछि अर्को नेतृत्व आफूखुसी तोकनुभयो । अहिले भातृ संस्थाको मनोनयनमा पनि उहाँले आफूनिकटकालाई मात्रै मनोनयन गर्नुभयो । प्रतिस्पर्धी समुहलाई वास्तै गरिएन । परामर्श गर्नुपर्ने आवश्यकता उहाँले गर्दै गर्नुभएन । उहाँले प्रधानमन्त्रीका रूपमा रहँदा राजनीतिक नियुक्तिमा प्रतिस्पर्धी समुहलाई पार्दै पार्नुभएन ।

स्थानीय तह निर्वाचनको समयमा पनि हामीसँग गम्भिरतापूर्वक सल्लाह गरिएन । त्यो आधार तयार गरेर जान सकेको भए परिणाममा हामीले धेरै सफलता पाउन सक्थ्यौँ । उहाँले प्रतिस्पर्धी समुहलाई बेवास्ता गर्ने तौरतरीका अहिले पनि कायम राख्नुभएको छ। आफ्ना सहयोगीलाई मात्रै र त्यो भन्दा पर जाँदा गठबन्धनका नेताहरूसँग उहाँले छलफल गर्ने गर्नुभयो । उहाँले दलभन्दा गठबन्धनलाई महत्व दिने गर्नुभयो । पार्टी पदाधिकारीले बिधान पालना गर्न आग्रह गर्दा पनि वेवास्ता गर्नुभयो । पार्टी पदाधिकारीको जिम्मेवारी तोक्नेमा पनि उहाँ चुक्नुभयो । अहिलेसम्म ८ जना सहमहामन्त्रीले काम पाउनुभएको छैन । 

तपाईंहरूका कुरा सुनुवाई होलान ?
सुुनवाई त हुनुपर्छ नै । सुनु्वाइ नै नगर्ने र पार्टीलाई एकलौटी ढंगले अगाडि लैजाने सुबिधा त पार्टी सभापतिलाई छैन । पार्टी महाधिबेशनको परिणामले पनि त्यस्तो म्यान्डेट दिँदैन । उहाँसग बहुमत छ, उहाँले केन्द्रीय कार्यसमितिबाट आफूले चाहेको निर्णय गर्न सक्नुहोला ।तर,आफूले चाहेकै मात्र निर्णय गर्दा पार्टी कमजोर र आम कार्यकर्ताको भावनाको प्रतिनिधित्व भएन भने त्यसको जिम्मेवारी कस्ले लिने?पार्टीमा उहाँले ६० प्रतिशत मत ल्याउनुभयो । डा. शेखर कोइरालाले ४० प्रतिशत मत ल्याउनुभयो । दुबैको एकताबाट नै पार्टीले पूर्णता प्राप्त गर्ने हो । पार्टीको बिधान र परम्पराका आधारमा अगाडि बढ्नुपर्छ । यो सभापतिलाई एक प्रकारको सहयोग नै हो । यसलाई असहयोगको रूपमा लिनु हुँदैन। 

सुनुवाई नभए के गर्नुहुन्छ ?
सुनुवाई नै नहुने र एकलौटी ढंगले अगाडि बढ्ने अबस्था बारे त अहिले नै भन्न गाह्रो हुन्छ । जुन संकेत गरिएको छ । दबाबमुलक कार्यक्रम भनेका छौँ, यो प्रारम्भिक चरणको दबाब हो । त्यसपछि के गर्ने भन्ने अहिले नै तय भइसकेको छैन । छलफलबाट तय गछौँ ।

चुनावको बेला पार्टीको विवाद बढ्दा त्यसको असर पर्ला नि ?
स्थानीय तहको निर्वाचन सकियो । आम निर्वाचन पनि आँउदैछ । पहिलेको निर्वाचनमा जति सल्लाह हुनुपथ्र्यो त्यो हुन सकेन । स्थानीय तहको आवश्यकता र औचित्यताका आधारमा तालमेल भनिएको हो । त्यसलाई पनि पूर्ण रूपमा पालना हुन सकेन । त्यसकारण अब प्रदेश र संघीय निर्वाचनमा सरसल्लाह होस, आपसि परामर्श होस र ठोस निष्कर्षको आधारमा अगाडि बढ्ने तयारी होस भनेर नै सुझाव दिइएको हो । 

संस्थापनपक्षले तपाईंहरूको असन्तुष्टिलाई भागबन्डा खोजेकोरूपमा हेरेको छ नि ?
यो त अधिकार हो । पार्टीका साथीले अबसरका लागि अग्रसरता देखाउनु वा माग गर्नु अधिकार नै हो । पार्टी सबैको साझा सरोकारको बिषय हो । पार्टीमा लामो समय काम गरेका, योगदान गरेका, जनताको बीचमा लोकप्रियता कमाएकाहरूले संंगठन र राष्ट्रका लागि आवश्यक अबसर खोज्नु जायज छ । यो कसैको निागाहाको कुरा होइन । नेतृत्वले दयापुर्वक निगाहा गरेर अबसर दिने भन्ने होइन, अधिकारपुर्वक लिने हो । यसमा सन्तुलन होस भन्ने हाम्रो मनसाय हो । सन्तुलन बिग्रियो भने त पार्टीले परिणाम प्राप्त गर्न सक्दैन । 

सुझावित समाचार