चालीस वर्ष पुगेका तर एक्लो जीवन बिताइरहेका महिलाले सामाजिक सुरक्षाभत्ता पाउने

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण
चालीस वर्ष पुगेका तर एक्लो जीवन बिताइरहेका महिलाले सामाजिक सुरक्षाभत्ता पाउने

तस्बिर : बबिता मिश्र, सचिव, राज्य व्यवस्था तथा सुशासन समिति ।

चालीस वर्ष उमेर भएका तर एक्लो जीवन बिताइरहेका विवाहित वा अविवाहित महिलाहरूले पनि सामाजिक सुरक्षाभत्ता पाउने भएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा त्यस्ता महिलाहरूलाई पनि सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने प्रावधान राख्न सहमति जुटेको हो ।

त्यसैगरी, सम्बन्धविच्छेद गरेर श्रीमानको सम्बन्धमा १२ वर्षदेखि नरहेका विवाहित वा अविवाहित महिलाहरूलाई पनि एकल महिलाको परिभाषाभित्र राखेर सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने प्रावधान पनि सर्वसम्मतिले पारित भएको समितिकी सचिव बबिता मिश्रले जानकारी दिइन् । बैठकले नेपाल सरकारले पिछडिएका क्षेत्रका साथै कुनै निश्चित क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई समेत त्यस्तो भत्ता उपलब्ध गराउन सक्ने प्रावधानसमेत राखेको छ । 

‘विवाह गरी वा नगरी एक्लो जीवनमा रहेका र ४० वर्ष उमेर पुगेका, त्यसैगरी सम्बन्धविच्छेद गरेर वा श्रीमानकाे सम्बन्धमा १२ वर्षदेखि नरहेका लैंगिक हिंसामा परी विवाहित वा अविवाहित रूपले एक्लो जीवन व्यतित गरिरहेका महिलाहरूलाई पनि थपेर एकल महिलाको परिभाषाभित्र राखिनुपर्छ भनेर यो संशोधनलाई समितिले स्वीकार गरेको छ । पारित गरेको छ,’ सचिव मिश्रले भनिन् । 

समितिले न्यून आय भएका तथा पालनपोषण र हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भएर पनि आर्थिक रूपले विपन्न अवस्थामा रहेका अन्य एकल महिलाहरूलाई पनि असहाय एकल महिलाभत्ता दिने प्रावधानसमेत पारित गरेको छ । त्यसैगरी, स्वघाेषणा गरी सामाजिक सुरक्षाभत्ता कसैले लिन नचाहेमा उसलाई राज्यले प्रशंसा पत्रसहित सम्मान गर्ने प्रावधान समितिबाट पारित गरिएको पनि सचिव मिश्रले जानकारी दिइन् । 

सुझावित समाचार